नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्र उपसभापति विश्वप्रकाश शर्मा लाई बुझाइसकेका छन्।
माघ १ गते विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थापाले बुधबार औपचारिक रूपमा राजीनामा दिएका हुन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसकेपछि उनले नैतिक जिम्मेवारीस्वरूप पद त्याग्ने निर्णय गरेका हुन्।
थापा नेतृत्वमा ‘बदल्यौँ कांग्रेस, बदल्छौं देश’ भन्ने नारासहित चुनावमा होमिएको कांग्रेस यसपटक कमजोर प्रदर्शन गर्दै पछि परेको छ। थापा स्वयं पनि काठमाडौं–४ छोडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका थिए तर अमरेशकुमार सिंहसँग पराजित भएका थिए।
पार्टीभित्र भने थापाको राजीनामाबारे मत विभाजन देखिएको थियो। शेरबहादुर देउवा समूहका नेताहरूले राजीनामा दिनुपर्ने धारणा राख्दै आएका थिए भने विशेष महाधिवेशन पक्षधर नेताहरूले राजीनामा दिन नहुने तर्क गरेका थिए।
थापाले बुझाएको राजीनामा अब केन्द्रीय कार्यसमिति बैठकमा पेस हुनेछ। पार्टी विधानअनुसार उपसभापति शर्माले उक्त प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछन्। यदि केन्द्रीय समितिले राजीनामा स्वीकृत गरेमा उपसभापति शर्माले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नेछन्।
कांग्रेसको विधानको धारा २६ मा सभापतिको राजीनामा सम्बन्धी व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको छ। यस विषयमा निर्णय लिन कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने तयारीमा रहेको छ।
