काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।

ओलीलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै उनकी पत्नी राधिका शाक्यको तर्फबाट रिट दायर गरिएको हो। त्यस्तै, पूर्वगृहमन्त्री लेखकको हकमा पनि गैरकानुनी थुनालाई चुनौती दिँदै सर्वोच्चमा रिट दायर गरिएको छ। दुवै रिटमाथि सुनुवाइ सोमबारका लागि तोकिएको छ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली र कांग्रेस नेता लेखकलाई चैत १४ गते जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको थियो। एमालेले उक्त गिरफ्तारीलाई ‘गैरकानुनी’ र पूर्वाग्रही भन्दै राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरिसकेको छ।

घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनका लागि उनीहरू जिम्मेवार रहेको ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही प्रतिवेदनका आधारमा सरकारले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउपछि ओलीलाई शिक्षण अस्पतालमा राखिएको छ भने लेखकलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो। अस्पतालमा रहेका ओली भने भर्चुअल माध्यमबाट अदालतमा उपस्थित भएका थिए।

सरकारी वकिलको कार्यालयले दुवै जनालाई १० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको छ।