काठमाण्डौ
इजरायलका लागि सहायक कामदार (केयरगिभर) भर्ना खुल्यो भन्ने विषयमा सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको भ्रामक सूचना र विज्ञापनप्रति वैदेशिक रोजगार विभागले कडा प्रतिक्रिया दिँदै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
हाल टिकटकसहित विभिन्न सामाजिक सञ्जालमा केयरगिभर भर्ना खुलेको भन्दै प्रसारित जानकारीहरू पूर्णतः असत्य रहेको विभागले स्पष्ट पारेको छ। यस्ता सूचनामा विश्वास नगर्न र आधिकारिक स्रोतबाट मात्र जानकारी लिन विभागले अनुरोध गरेको छ।
नेपाल सरकार र इजरायल सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुसार, इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि केयरगिभर पठाउने सम्पूर्ण प्रक्रिया जी–टु–जी अर्थात सिधै दुएै देशको सरकारी तवरबाट मार्फत मात्र सम्पन्न हुन्छ। यसबाहेक कुनै पनि निजी संस्था, कम्पनी वा व्यक्तिलाई विज्ञापन गर्ने, फारम भर्ने वा भर्ना प्रक्रिया सञ्चालन गर्ने अधिकार छैन।
विभागले जी–टु–जी प्रक्रिया बाहेक इजरायल जाने अर्को विकल्प नभएको दोहोर्याउँदै अवैध गतिविधिमा संलग्न हुने वा भ्रामक सूचना फैलाउने व्यक्तिहरू, समूह वा एजेन्सीमाथि कडा कारबाही हुने चेतावनी दिएको छ।
थप जानकारीका लागि विभागले सरकारद्वारा प्रकाशन हुने आधिकारिक सूचना मात्र हेर्न, विशेषगरी वैदेशिक रोजगार विभागको आधिकारिक वेबसाइटमार्फत अद्यावधिक जानकारी लिन आग्रह गरेको छ।
