काठमाडौं । व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ। विशेष सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्रमा भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा दायर गरिएको मुद्दामा भट्टले विभिन्न आर्थिक तथा धितोपत्रसम्बन्धी अनियमितताबाट आर्जित रकमलाई वैध देखाउन जटिल वित्तीय कारोबार तथा लगानी गरेको आरोप लगाइएको छ।
अभियोगपत्रअनुसार बीमा क्षेत्रसँग सम्बन्धित आर्थिक अनियमितताबाट प्राप्त रकमलाई विभिन्न कम्पनीका सेयर, डिबेञ्चर तथा अन्य लगानीका माध्यमबाट वैध आम्दानीका रूपमा देखाउने प्रयास गरिएको दाबी गरिएको छ। अनुसन्धानका क्रममा नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापिटल सर्भिस तथा हिमालयन लाइफ इन्स्योरेन्ससँग सम्बन्धित कारोबारमा ठूलो परिमाणमा रकम परिचालन भएको उल्लेख गरिएको छ।
अनुसन्धान टोलीका अनुसार गैरकानुनी स्रोतबाट प्राप्त भनिएको रकमलाई विभिन्न वित्तीय उपकरणमार्फत रूपान्तरण गरी वास्तविक स्रोत लुकाउने प्रयास गरिएको देखिएको छ। यस क्रममा अर्बौं रुपैयाँ बराबरको सेयर कारोबार, डिबेञ्चर खरिद–बिक्री तथा अन्य लगानी गतिविधिलाई सम्पत्ति शुद्धीकरणको माध्यम बनाइएको आरोप छ।
अभियोगपत्रमा इन्फिनिटी होल्डिङ्समार्फत गरिएको लगानी, विभिन्न बैंक खातामार्फत भएका कारोबार, सेयरबाट प्राप्त लाभांश तथा अन्य सम्पत्तिलाई समेत कसुरजन्य सम्पत्तिका रूपमा समावेश गरिएको छ। अनुसन्धानका क्रममा बरामद नगद, सवारीसाधन तथा विभिन्न कम्पनीका सेयर लगानीसमेत बिगो दाबीमा जोडिएको छ।
मनी लाउन्डरिङ निवारण ऐन, २०६४ अन्तर्गत गैरकानुनी स्रोतबाट प्राप्त सम्पत्तिको प्राप्ति, धारण, कारोबार वा रूपान्तरणलाई कसुर मानिने व्यवस्था छ। सोही कानुनी आधारमा अभियोजन पक्षले भट्टविरुद्ध ठूलो परिमाणको बिगो कायम गर्दै कारबाही र सम्पत्ति जफतको मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।
यो मुद्दालाई पछिल्लो समयको सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण प्रकरणमध्ये एक मानिएको छ। अब विशेष अदालतले आरोप, प्रमाण र अनुसन्धान प्रतिवेदनका आधारमा थप सुनुवाइ अघि बढाउनेछ।
