काठमाडौं । तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपाल स्पोर्ट्स क्लबले नवौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा शानदार सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा हेल्प नेपालले पुरुषतर्फ विभागीय टोली एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
समूह ‘ए’ मा रहेको हेल्प नेपालले सुरुदेखि नै खेलमा पूर्ण नियन्त्रण राख्दै एपिएफमाथि दबाब बनायो । एपिएफले युवा खेलाडीमार्फत चुनौती दिने प्रयास गरे पनि सफल हुन सकेन । हेल्प नेपालले पहिलो सेट २५–२१ ले जित्दै अग्रता लिएको थियो भने दोस्रो र तेस्रो सेट क्रमशः २५–२० र २५–२० ले आफ्नो पक्षमा पार्दै खेल समाप्त गर्यो । यस जितसँगै हेल्प नेपालले क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
डिफेन्डिङ च्याम्पियनसमेत रहेको हेल्प नेपाल स्पोर्ट्स क्लब नौ संस्करणमध्ये सात पटक च्याम्पियन बनिसकेको छ । क्लबले २०७३ साल (तेस्रो संस्करण) मा पहिलोपटक उपाधि जितेपछि घरेलु भलिबल प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । यस संस्करणमा पनि अनुभवी तीन पाकिस्तानी खेलाडीको उपस्थितिले टोलीलाई थप बलियो बनाएको देखिएको छ । हेल्प नेपालले समूह चरणको दोस्रो खेल आगामी सोमबार मणिमुकुन्द क्लबसँग खेल्नेछ ।
शुक्रबार नै पुरुषतर्फको अर्को खेलमा समूह ‘बी’ अन्तर्गत नेपाल पुलिस क्लबले ढोरपाटन क्लबलाई ३–१ को सेटमा पराजित गर्यो । पुलिसले पहिलो दुई सेट २५–२० र २५–१४ ले जिते पनि तेस्रो सेट ३५–३३ ले ढोरपाटनको पक्षमा गयो । चौथो सेट भने पुलिसले २५–१४ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।
महिलातर्फ पनि विभागीय टोलीहरूले सुखद सुरुआत गरेका छन् । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लबले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मीकी मुख्य खेलाडी सफिया पुन अस्ट्रेलिया प्रस्थान गरे पनि टोलीले २५–१६, २५–१४ र २५–२३ को सेट जित्दै सहज विजय दर्ता गर्यो । यस समूहमा चुली युवा क्लब र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब रहेका छन् ।
महिलातर्फकै अर्को खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ३–० ले पराजित गर्यो । पुलिसले २५–१०, २५–६ र २५–११ को सेटमा सहज जित निकालेको हो । महिलातर्फ कुल आठ टोली दुई समूहमा विभाजन गरिएको छ, जहाँ समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । — न्युज एजेन्सी नेपाल
