काठमाडौं। सुनसरीको देवानगञ्ज तथा त्यसपछि सिराहालगायत विभिन्न क्षेत्रमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै राजनीतिक दलका शीर्ष नेता, संवैधानिक पदाधिकारी, पूर्वराष्ट्रपति, पूर्वराजा, सामाजिक संस्था तथा नागरिक समाजका प्रतिनिधिहरूले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबैसँग संयमता अपनाउन आग्रह गरेका छन्।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही दिनअघि नै वक्तव्य जारी गर्दै कुनै पनि साम्प्रदायिक वा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधिमा संलग्न नहुन सम्पूर्ण नागरिक, धार्मिक अगुवा, सामाजिक व्यक्तित्व तथा सरोकारवालासँग अपिल गरेका थिए। उनले त्यसपछि सर्वदलीय बैठक बोलाएर बढ्दो तनाव रोक्ने उपायबारे विभिन्न राजनीतिक दलसँग छलफल गरेका थिए।
नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान परिस्थितिमा सबै नागरिकले जिम्मेवारीपूर्वक संयमता अपनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले अफवाह, उत्तेजना र प्रतिशोधभन्दा धैर्यता र सहिष्णुतालाई प्राथमिकता दिन आग्रह गर्दै सामाजिक सद्भाव जोगाउन सबैको भूमिका आवश्यक रहेको बताएका छन्।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सद्भाव कायम गर्नु सरकारको मात्र नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सबै पक्षलाई आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि वक्तव्य जारी गर्दै समाजलाई विभाजन गर्ने उद्देश्यले फैलाइने भ्रामक प्रचारप्रति सचेत रहन आग्रह गरेका छन्। उनले राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र सर्वसाधारणलाई सामाजिक एकता र सद्भाव कायम राख्न सक्रिय हुन आह्वान गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा सबै राजनीतिक दल र सरोकारवालाले सामाजिक सद्भावलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।
मधेश केन्द्रित विभिन्न राजनीतिक दलका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, सीके राउत, समिम अन्सारी र रामकुमार शर्माले संयुक्त वक्तव्य जारी गर्दै नागरिकलाई धैर्य र संयमता अपनाउन आग्रह गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति तथा दोषीमाथि कारबाहीको माग पनि गरेका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत हिन्दू–मुस्लिम समुदायबीचको सद्भाव कायम राख्न आग्रह गर्दै सबै नेपाली मिलेर बस्नुपर्ने सन्देश दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हिंसा, अराजकता र साम्प्रदायिक द्वेषको राजनीतिलाई आफ्नो पार्टीले स्वीकार नगर्ने स्पष्ट पार्दै शान्ति र सद्भाव कायम राख्न सबैलाई आह्वान गरेका छन्।
यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको पहिचान सामाजिक, धार्मिक र जातीय सद्भाव, सहिष्णुता तथा सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै राष्ट्रिय एकता सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज र आम नेपालीलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि वर्तमान संवेदनशील अवस्थामा अफवाह, घृणास्पद अभिव्यक्ति तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन सबैसँग अपिल गरेकी छन्। उनले केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म सामाजिक सद्भाव कायम गर्न सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिएकी छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त देश भएकाले विविधताभित्रको एकतालाई जोगाउनु सबैको दायित्व भएको उल्लेख गर्दै जहाँ रहे पनि सबै नेपाली मिलेर बस्नुपर्ने सन्देश दिएका छन्।
यसैगरी, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल बार एसोसिएसन तथा विभिन्न नागरिक, धार्मिक र सामाजिक संस्थाहरूले पनि छुट्टाछुट्टै वक्तव्य जारी गर्दै हिंसा, द्वन्द्व र सामाजिक विभाजनले मुलुकको सामाजिक तथा आर्थिक जीवनमा गम्भीर असर पार्ने भएकाले शान्ति, सहिष्णुता र आपसी विश्वास कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्।
