नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ले आफ्नो उपचारका लागि आवश्यक सहयोग नपाएको उल्लेख गर्दै सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले उक्त विषयमा ध्यानाकर्षण भएको जनाएको छ।
न्युजिल्यान्डस्थित क्लबमा व्यावसायिक फुटबल खेल्ने क्रममा घाइते भएकी सावित्राले उपचार व्यवस्थापनमा कठिनाइ भइरहेको बताएकी थिइन्। उनले उपचारका लागि एन्फासँग सहयोग माग्दा अपेक्षित साथ नपाएको गुनासो गर्दै आर्थिक सहयोगका लागि सार्वजनिक अपिलसमेत गरेकी थिइन्।
यस विषयमा एन्फाले विज्ञप्ति जारी गर्दै सावित्रा नेपाली फुटबलकी गौरव र धरोहर खेलाडी भएको उल्लेख गरेको छ। संघले उनको चोटप्रति आफूहरू संवेदनशील रहेको जनाउँदै उपचारका लागि कतारसँग आवश्यक पहल भइरहेको जानकारी दिएको छ। सावित्राको उपचार व्यवस्थापनका लागि कतार फुटबल संघसँग औपचारिक पत्राचार गरिसकिएको र एन्फा अध्यक्षले व्यक्तिगत रूपमा पनि समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
एन्फाले उपचार प्रक्रियालाई सहज बनाउन परराष्ट्र मन्त्रालयसँग समेत आवश्यक पत्राचार गरिसकेको जनाएको छ। यसअघि पनि एन्फाकै सहयोगमा सावित्राले कतारमा उपचार गराएकी थिइन्।
विज्ञप्तिमा नेपाली महिला राष्ट्रिय टोलीका अन्य खेलाडीहरू प्रीति राई, दीपा शाही, गीता राना मगर, हिरा भुजेल, पुनम जर्घा मगर, रेनुका नगरकोटी र सविता राना मगरको उपचारमा समेत एन्फाले सहयोग पुर्याएको उल्लेख गरिएको छ।
सावित्राको उपचार व्यवस्थापनसम्बन्धी विषय सार्वजनिक रूपमा उठेपछि एन्फाले आवश्यक समन्वय र पहल जारी राखेको दाबी गरेको छ।
