आगलागी होस् या बाढी, हुरी चलोस् वा खडेरी, विपत्ति, सङ्कट वा जुनसुकै दुर्घटना—सुखदुःखको साथी नेपाली सेना । सार्वभौम सत्ताको रक्षा, राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको नेपाली सेना आज पनि मुलुक र नागरिकप्रति उत्तिकै समर्पित देखिन्छ ।

विक्रम संवत् १८१९ मा स्थापना भएको नेपाली सेना अनेकौँ गौरवपूर्ण गाथा र सुनौला इतिहास अक्षुण्ण राख्दै २६३ औँ वर्षमा प्रवेश गरेको छ । महाशिवरात्रि पर्व तथा सेना दिवसको विशेष अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा २६३ औँ स्थापना दिवस आयोजना गरिएको छ । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले स्थापना गरेको नेपाली सेनाले आफूलाई एक सुरक्षा सङ्गठनका रूपमा मात्र नभई राष्ट्रिय एकता कायम राख्दै आमनागरिकको सबैभन्दा विश्वास र भरोसायोग्य सङ्गठनका रूपमा स्थापित गराएको छ ।

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार स्थापनादेखि नै नेपाली सेनाले मुलुक, नागरिक र संविधानप्रति प्रतिबद्ध भई राष्ट्रले तोकेको जिम्मेवारी निष्ठासाथ पूरा गर्दै आएको छ । उहाँ भन्नुहुन्छ, “नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि मुलुक र नागरिकको रक्षार्थ संविधानअनुसार जस्तोसुकै कठिन परिस्थितिसँग जुध्न तयार रहँदै आएको छ । भविष्यमा पनि यसलाई अक्षुण्ण राख्नेछ ।” उहाँका अनुसार नेपाली सेना समग्र सुरक्षासँगै विपत् व्यवस्थापन, राष्ट्रनिर्माण, कला–संस्कृति तथा ऐतिहासिक र पुरातात्त्विक सम्पदाको संरक्षणमा पनि सक्रिय छ ।

१७ औँ शताब्दीमा विश्वव्यापी रूपमा फैलिएको औपनिवेशवादलाई सिमानामै रोकी नेपाललाई औपनिवेशमुक्त राख्न सफल भएको इतिहास नेपाली सेनासँग जोडिएको छ । आन्तरिक तथा बाह्य सुरक्षासँगै द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ अग्रपङ्क्तिमा खटिँदै आएको नेपाली सेनाले विश्वमाझ छुट्टै पहिचान बनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा हालसम्म एक लाख ६० हजारभन्दा बढी नेपाली शान्ति सैनिक विभिन्न युद्धग्रस्त क्षेत्रमा तैनाथ भइसकेका छन् । महिला शान्ति सैनिक खटाउने मामिलामा पनि नेपाल अग्रस्थानमा रहँदै आएको छ । संयुक्त राष्ट्रसङ्घका पूर्वस्थायी प्रतिनिधि प्राडा जयराज आचार्यका अनुसार नेपाली सेनाले विश्व शान्ति, स्थायित्व र सैन्य कूटनीतिमा खेलेको भूमिका विशिष्ट छ । उहाँ भन्नुहुन्छ, “म संयुक्त राष्ट्रसङ्घमा पहिलो पटक काम गर्दा लेबनानमा जम्मा ८८१ जना नेपाली शान्ति सैनिक तैनाथ थिए । यसलाई बढाएर दुई हजार ४०० पु¥यायौँ । निरन्तरको प्रयास र नेपाली शान्ति सैनिकले देखाएको वीरता र बलिदानीका कारण आज शान्ति सैनिक खटाउने मुलुकमा नेपाल अग्रस्थानमा छ ।” उहाँले १० हजार शान्ति सैनिक खटाउने प्रतिबद्धताले नेपालप्रति अन्तर्राष्ट्रिय भरोसा अझ बढाएको बताउनुभयो ।

विश्वमाझ गौरवपूर्ण परिचय बनाएको नेपाली सेना राष्ट्रनिर्माणमा पनि उत्तिकै सक्रिय छ । विकास निर्माण, विपत् व्यवस्थापन तथा पूर्वाधार विकासका चुनौतीपूर्ण क्षेत्रमा सेनाले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माण कार्य सेनाले अघि बढाइरहेको छ । त्यस्तै कालीगण्डकी कोरिडोर, खाँदबारी–किमाथाङ्का तथा कर्णाली कोरिडोर जस्ता जटिल भौगोलिक क्षेत्रमा सडक निर्माण सम्पन्न गरिसकेको छ ।

घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला सडकखण्ड निर्माणाधीन छ भने बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ र दार्चुला–तिङ्कर सडक आयोजना प्राथमिकतामा रहेका छन् । पूर्वाधारविज्ञ तथा पूर्वसचिव अर्जुनजङ्ग थापाका अनुसार नेपाली सेनाले पूर्वाधार विकासमा पु¥याएको योगदान अतुलनीय छ । उहाँ भन्नुहुन्छ, “द्रुतमार्गले वार्षिक झन्डै १२ अर्ब रुपैयाँ बराबरको इन्धन बचत हुन्छ, आठ–नौ वर्षमै यसको लागत उठ्छ ।” निजी क्षेत्रले निर्माण गर्न नसकेका ठूला तथा जटिल परियोजना सम्हालेर नेपाली सेनाले विकासमा नयाँ दृष्टान्त प्रस्तुत गरेको उहाँको भनाइ छ ।

राष्ट्रिय सुरक्षादेखि शान्ति स्थापना, विपत् व्यवस्थापनदेखि पूर्वाधार निर्माणसम्म बहुआयामिक भूमिकामा सक्रिय नेपाली सेना आज पनि मुलुकको सार्वभौम सत्ताको रक्षा र नागरिकको भरोसाको प्रतीकका रूपमा उभिएको छ ।