काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका नेताहरूले व्यक्तिगत प्रचारमै सीमित नहुँदै सिंगो पार्टीका योगदान र भूमिका एकीकृत रूपमा प्रचार गर्नुपर्ने बताएका छन्।

शुक्रबार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित पार्टी एकता सन्देश सभामा बोल्दै उनले चुनावको समयमा पार्टीका सबै नेताले खेलेका भूमिका र योगदान समग्र रूपमा उजागर गर्न आवश्यक रहेको बताए। सहसंयोजक नेपालले विगतमा सरकारको नेतृत्व गर्दा केही नगरेको भन्ने आरोप गर्नेहरूलाई खण्डन गर्न पार्टी नेता र कार्यकर्तालाई सचेत गराए।

उनले भने, “अब त एकीकृत रुपमा प्रचार पनि गर्नुपर्छ। म मेरो मात्रै प्रचार गर्ने, अर्को वक्ताले आफ्नै प्रचार गर्ने होइन। हामीले खेलेका भूमिकाहरू, योगदानहरू र देशका प्रत्येक संकटमा सामना गरेका चुनौतीहरू सबैलाई सही रूपमा प्रस्तुत गर्नुपर्छ।”

सहसंयोजक नेपालले भदौ २३–२४ को घटनाको उदाहरण दिँदै आफैं र कमरेड पुष्पकमल दाहालले संकट समाधान गर्न राति नौ बजेदेखि विहान चार बजेसम्म राष्ट्रपति निवासमा बसेको स्मरण गराए। उनले भने, “त्यो बेला राष्ट्रपतिजीले हामीलाई सम्झिनुभयो, अरु कुनै पार्टीको नेताको अत्तोपत्तो भएन। हामीले प्रधानमन्त्रीलाई पनि सन्देश पठायौं कि निष्पक्ष चुनाव गर्नुस् र राम्रो काम गर्न तयार छौं।”

सहसंयोजक नेपालले भदौ २३–२४ को घटनापछि मुलुकमा उत्पन्न संकट समाधान गर्न र निर्वाचनको वातावरण तयार गर्न आफू र पुष्पकमल दाहालले महत्वपूर्ण भूमिका खेलेको दाबी समेत गरेका छन्। – न्युज एजेन्सी नेपाल