काठमाडौँ। सरकार र जेनजी संयुक्त जनआन्दोलनका अभियन्ताबीच हुने सम्झौतापत्रको मसौदा तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि सुरु गरिएको द्विपक्षीय परामर्शले समझदारीको खाका तयार गर्ने गृहकार्य लगभग सम्पन्न भएको हो।

सरकारका प्रवक्ता तथा सञ्चार–सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार पक्ष र जेनजी प्रतिनिधिबीच भइरहेको छलफलले सम्झौता अन्तिम रूप दिन पुगेको जानकारी दिए । मन्त्री खरेलका अनुसार अब केही सामान्य प्राविधिक शब्दावली मिलाउन मात्र बाँकी छ। सबै विषयमा सहमति बनेपछि औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गरिने छ।

यही क्रममा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री कार्कीलाई भेट गरी सम्झौता प्रक्रियामा भएको प्रगति बारे जानकारी गराएका थिए । गुरुङले जेनजी आन्दोलनलाई वैधता दिन आवश्यक प्रक्रिया शीघ्र टुंग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षरको व्यवस्था मिलाउन आग्रह गरेको भेटपछि सञ्चारकर्मीलाई जानकारी दिए । उनलेभ भने, ‘प्रधानमन्त्रीसंगको भेटमा जेन्नी आन्दोलनमा सहभागी भएका युवामध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लिएर धरौटी रकम अभावमा पुर्पक्षका लागि थुनामा राखिएको र यसबारेमा प्रधानमन्त्रीलाई जानकारी गराइएको छु’ ।