अस्ट्रेलिया। अस्ट्रेलियालाई उच्च शिक्षा, रोजगारी र भविष्य निर्माणको गन्तव्यका रूपमा हेर्दै आएका हजारौँ नेपाली विद्यार्थीका लागि पछिल्लो समय अस्ट्रेलिया प्रवेशको बाटो पहिलेभन्दा कठिन बन्दै गएको छ। आकर्षक शैक्षिक अवसर र राम्रो करिअरको सम्भावनाले नेपाली विद्यार्थीको अस्ट्रेलियाप्रतिको आकर्षण कायमै रहे पनि कडा हुँदै गएको भिसा प्रक्रिया, बढ्दो आवेदन अस्वीकृति र महँगो आवेदन शुल्कले विद्यार्थी तथा अभिभावकको चिन्ता बढाएको छ।

सरकारी तथ्यांकले नै यो परिवर्तनको गम्भीर संकेत देखाएको छ। नेपालबाट उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आवेदन दिएका विद्यार्थीमध्ये ठूलो हिस्सा भिसा स्वीकृत हुनबाट वञ्चित भएको छ। विशेषगरी व्यावसायिक शिक्षा तथा तालिमका लागि आवेदन दिने नेपाली विद्यार्थीको अस्वीकृति दर निकै उच्च देखिएको छ।

केही वर्षअघिसम्म अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि तुलनात्मक रूपमा सहज अध्ययन गन्तव्यका रूपमा स्थापित थियो। अध्ययनसँगै काम गर्न पाइने, अन्तर्राष्ट्रिय डिग्री प्राप्त हुने र अध्ययनपछि करिअर तथा स्थायी बसोबासतर्फ अघि बढ्ने सम्भावनाले विद्यार्थीलाई आकर्षित गर्दै आएको थियो। तर अहिले अस्ट्रेलियाले विद्यार्थीको संख्या मात्र होइन, कस्ता विद्यार्थी आउँछन्, किन आउँछन् र उनीहरूको अध्ययन योजना कति विश्वसनीय छ भन्ने विषयलाई पनि कडाइका साथ मूल्यांकन गर्न थालेको छ।

पछिल्लो तथ्यांकअनुसार नेपालबाट अफसोर अर्थात् नेपालमै बसेर उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ। भिसा पाउने निश्चितता कम हुँदै जानु, आवेदन शुल्क महँगिनु र अस्वीकृत भएपछि ठूलो रकम गुम्ने जोखिमले विद्यार्थी तथा अभिभावकलाई निर्णय गर्नुअघि धेरैपटक सोच्न बाध्य बनाएको छ।

अस्ट्रेलियाको विद्यार्थी छनोट प्रणालीमा देशअनुसार जोखिमको मूल्यांकन गरिन्छ। नेपाल पछिल्लो वर्गीकरणमा तल्लो तहमा पुगेपछि नेपाली विद्यार्थीका लागि भिसा प्रक्रियामा थप प्रमाण, स्पष्ट अध्ययन योजना र विश्वसनीय आर्थिक आधार आवश्यक पर्ने अवस्था बनेको छ।अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने नेपाली विद्यार्थीको भिसा अस्वीकृत हुने दर पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ। सरकारी तथ्यांकअनुसार नेपालबाट उच्च शिक्षा अध्ययनका लागि आवेदन दिएका विद्यार्थीमध्ये करिब ६४ प्रतिशतको भिसा आवेदन अस्वीकृत भएको देखिएको छ।

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको छनोट प्रक्रियामा कडाइ गर्दै गएपछि नेपाली विद्यार्थीको भिसा स्वीकृति दरमा गिरावट आएको हो। अस्ट्रेलियाले विद्यार्थीको जोखिम र आवेदनको गुणस्तरका आधारमा विभिन्न देशलाई ‘इभिडेन्स लेभल’ मा वर्गीकरण गर्दै आएको छ। पछिल्लो वर्गीकरणमा नेपाल तेस्रो तहमा पुगेको बताइएको छ। यसअघि नेपाल दोस्रो तहमा थियो।

सबैभन्दा उच्च अस्वीकृति व्यावसायिक शिक्षा तथा तालिमतर्फ देखिएको छ। कम शुल्क र छोटो अवधिका कारण नेपाली विद्यार्थीको रोजाइमा पर्ने व्यावसायिक शिक्षा तथा तालिमका आवेदनमध्ये करिब ९० प्रतिशत अस्वीकृत भएको तथ्यांकले देखाउँछ। ५४९ जनाले आवेदन दिएकोमा ५६ जनाले मात्र भिसा प्राप्त गरेका छन्।

अस्ट्रेलियामा अहिले करिब ६० हजार नेपाली विद्यार्थी रहेको बताइएको छ। तीमध्ये अधिकांश पुराना विद्यार्थी हुन् भने नयाँ विद्यार्थीको संख्या तुलनात्मक रूपमा निकै कम भएको छ।

अस्ट्रेलियाको गृह मन्त्रालयको तथ्यांकअनुसार गत जनवरीदेखि मेसम्म नेपालबाट उच्च शिक्षा अध्ययनका लागि बाहिरबाट आवेदन दिएका ७ हजार ५०० विद्यार्थीमध्ये २ हजार ७०० जनाले मात्र भिसा प्राप्त गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा ८ हजार २८ जनाले आवेदन दिएकामा ७ हजार १६७ जनाको भिसा स्वीकृत भएको थियो। यसले पछिल्लो एक वर्षमा आवेदन र स्वीकृति दुवैमा ठूलो गिरावट आएको देखाउँछ।

सिड्नीस्थित कानुन व्यवसायी सञ्जीव पाण्डेका अनुसार कोभिड–१९ पछि ठूलो संख्यामा विद्यार्थी भित्र्याएपछि अस्ट्रेलियाले विद्यार्थीको वास्तविक अध्ययन उद्देश्य र दीर्घकालीन योगदानलाई बढी प्राथमिकता दिन थालेको छ। उनका अनुसार अध्ययनका क्रममा बारम्बार विषय परिवर्तन गर्ने, विद्यार्थी भिसालाई लामो समय बस्ने माध्यमका रूपमा प्रयोग गर्ने तथा रोजगारी र आवासमा देखिएको दबाबलाई सम्बोधन गर्न सरकारले विद्यार्थी भिसा प्रक्रियामा कडाइ गरेको हुन सक्छ।

अन्तर्राष्ट्रिय विद्यार्थीको आगमन घट्दै गएपछि अस्ट्रेलियाको शिक्षा क्षेत्रमा निर्भर कन्सल्टेन्सी तथा साना शैक्षिक संस्थासमेत प्रभावित भएका छन्। सेन्ट्रल अस्ट्रेलियन कलेजका अन्तर्राष्ट्रिय व्यवसाय विकास व्यवस्थापक खगेन्द्र सत्यालले विद्यार्थीको भिसा आवेदन मूल्यांकन गर्दा उनीहरूले अस्ट्रेलियालाई दिन सक्ने योगदान र दीर्घकालीन सम्भावनालाई समेत हेर्न थालिएको बताउनुभयो।

अस्ट्रेलियाको कडा अध्यागमन नीति, विद्यार्थीको संख्या नियन्त्रण गर्ने सरकारी प्रयास र देशभित्र बढ्दो आप्रवासनसम्बन्धी राजनीतिक बहसले समेत विद्यार्थी भिसा प्रक्रियामा प्रभाव पारिरहेको जानकारहरूको भनाइ छ।

विद्यार्थी भिसा अस्वीकृत भएपछि पुनः आवेदन, अर्को विद्यार्थी भिसा, अध्ययनपछिको कामसम्बन्धी भिसा तथा परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने प्रक्रियामा समेत चुनौती बढेको कानुन व्यवसायीहरूको भनाइ छ। स्थायी बसोबासको अवसर पनि विगतको तुलनामा प्रतिस्पर्धात्मक बन्दै गएको छ।

यसबीच, अस्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको संख्याका आधारमा नेपाल अझै तेस्रो स्थानमा रहेको छ। सरकारी तथ्यांकअनुसार कुल अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थीको हिस्सा करिब ९ प्रतिशत रहेको छ।