वेलिङ्टन । न्युजिल्याण्डकी शिक्षामन्त्री एरिका स्ट्यानफोर्डले शिक्षण योग्यता प्राप्त नगरेका तर आफ्नो क्षेत्रमा अत्यन्त दक्ष प्राविधिक तथा सीपयुक्त व्यक्तिहरूलाई विद्यालयमा अध्यापन गरेबापत हालभन्दा बढी तलब दिनुपर्ने प्रस्ताव अघि सारेकी छन् ।

हाल सीमित शिक्षण अधिकार अन्तर्गत कार्यरत यस्ता शिक्षकहरूले योग्य शिक्षकसरह तलब पाउँदैनन् । शिक्षण योग्यता नभएका डिग्रीधारी शिक्षकको अधिकतम वार्षिक तलब ९१ हजार ८६ डलर रहेको छ भने योग्य शिक्षकको अधिकतम तलब १ लाख ५ हजार ६ सय ८६ डलर छ ।

शिक्षामन्त्री स्ट्यानफोर्डले दशकौँसम्म निर्माण, प्राविधिक तथा अन्य व्यावसायिक क्षेत्रमा काम गरेका अनुभवी व्यक्तिहरू विद्यालयमा पढाउन सक्षम रहेको बताउँदै उनीहरूलाई कम तलब दिनु उचित नभएको धारणा राखिन्। उनका अनुसार विद्यालयहरूले यस्ता दक्ष जनशक्ति भित्र्याउन चाहिरहेका छन् र तलब संरचनामा सुधार भए यसले ठूलो सहयोग पुर्‍याउनेछ ।

तर माध्यमिक शिक्षकहरूको सङ्गठनले भने शिक्षण पेशामा रहने सबै व्यक्तिले आवश्यक शिक्षण योग्यता हासिल गर्नुपर्ने अडान राखेको छ। सङ्गठनका अध्यक्ष क्रिस एबरक्रम्बीले कुनै विषयमा दक्ष हुनु मात्र पर्याप्त नभई पाठ्यक्रम, मूल्याङ्कन प्रणाली र विद्यार्थीलाई प्रभावकारी रूपमा सिकाउने सीप पनि आवश्यक पर्ने बताए ।

उनका अनुसार शिक्षण पेशामा नयाँ व्यक्तिहरूलाई आकर्षित गर्न छात्रवृत्ति, आर्थिक सहयोग र तालिमका अवसरहरू बढाउनु बढी प्रभावकारी उपाय हुनेछ ।

यता प्रविधि शिक्षाका विज्ञहरूले देशभर प्रविधि विषयका शिक्षकको अभाव रहेको बताएका छन् । विद्यालयका कार्यशालामा अध्यापन गरिरहेका करिब २०० जना शिक्षक सीमित शिक्षण अधिकार अन्तर्गत कार्यरत छन्। तीमध्ये धेरैजसो उद्योग तथा व्यावसायिक क्षेत्रबाट आएका अनुभवी जनशक्ति हुन् ।

विज्ञहरूका अनुसार लामो कार्यअनुभव भएका यस्ता शिक्षकहरूले पछि शिक्षण डिप्लोमा हासिल गरे पनि उनीहरूको उद्योग क्षेत्रमा रहेको अनुभव र सीपलाई तलब निर्धारणमा पर्याप्त रूपमा मान्यता दिइएको छैन । यसलाई सुधार गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ ।

न्युजिल्याण्ड सरकारले अहिले शिक्षक सङ्गठनहरूसँग छलफल गरी दक्ष प्राविधिक र उद्योग क्षेत्रका अनुभवी व्यक्तिहरूलाई विद्यालय शिक्षणमा आकर्षित गर्ने उपायहरूबारे काम गरिरहेको जनाएको छ ।