काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि स्वास्थ्य परीक्षण शुल्क एकैपटक ४६.१५ प्रतिशतले बढेको छ। नेपाल मेडिकल व्यवसायी संघले बुधवारदेखि लागू हुने गरी शुल्क ६ हजार ५ सयबाट बढाएर ९ हजार ५ सय रुपैयाँ तोकेको हो ।
दुबई, साउदी, कतार, मलेसिया, ओमानलगायत देशमा जानुअघि गरिने अनिवार्य स्वास्थ्य परीक्षणमै नयाँ दर लागु हुनेछ। नेपालबाट दैनिक करिब १ हजार ५ सय जना वैदेशिक रोजगारीमा निस्कँदा दैनिक ५२ लाख ५० हजार रुपैयाँ अतिरिक्त भार थपिएको संघले जनाएको छ।
‘शुल्क वृद्धि पुरानै निर्णयअनुसार’
श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करका अनुसार शुल्क वृद्धि मन्त्रालयले हाल गरेको निर्णय होइन, स्वास्थ्य मन्त्रालयको पुरानो सिफारिस र अध्ययन प्रतिवेदनका आधारमा आएको व्यवस्था हो। तर, उनले नयाँ मापदण्ड र डिजिटल प्रविधि पूर्ण रूपमा लागू नगरी शुल्क बढाउनु उचित नभएको टिप्पणी गरे।
‘व्यवसायीको मनोमानी होइन’
नेपाल मेडिकल व्यवसायी संघका महासचिव कृष्णप्रसाद बजगाईँले यो शुल्क वृद्धि व्यवसायीको मनोमानी नभई स्वास्थ्य मन्त्रालयको स्वीकृति र श्रम मन्त्रालयको परिपत्रका आधारमा भएको दावी गरे । महासचिव बजगाईंका अनुसार शुल्क निर्धारण करिब एक वर्षको अध्ययन, ३० जना चिकित्सकको विज्ञ समिति र मन्त्रालयका सिफारिसपछि गरिएको हो। उनका अनुसार परीक्षण दायरा विस्तार, आधुनिक प्रविधि र गुणस्तर सुनिश्चित गर्न शुल्क समायोजन अनिवार्य थियो।
१७१ स्वास्थ्य संस्थालाई मान्यता
वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्न १७१ स्वास्थ्य संस्थालाई मान्यता दिइएको छ। नयाँ शुल्क संरचना मन्त्रीस्तरीय समिति, योजना आयोग र प्रधानमन्त्री कार्यालयसम्मको सिफारिसपछि स्वीकृत भएको संघको दाबी छ।
३४ प्रकारका परीक्षण अनिवार्य, दायरा थप फराकिलो
सरकारले स्वास्थ्य परीक्षणलाई गुणस्तरीय, व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यले मापदण्ड परिवर्तन गरेपछि परीक्षणको संख्या बढेर ३४ पुगेको छ।
अनिवार्य गरिएका परीक्षणमा
– भिडियो एक्स–रे
– थाइराइड जाँच
– मुटुको परीक्षण
– तीन महिनाको सुगर ग्राफ
– किड्नी परीक्षण
– ड्रग टेस्ट
– महिलाका लागि सर्वाइकल क्यान्सर स्क्रिनिङ
