वेलिङ्टन / वेलिङ्टन सिटी काउन्सिलले खर्च घटाउने योजनाअन्तर्गत व्यापक पुनर्संरचना (restructure) प्रस्ताव अघि सारेको छ। प्रस्ताव कार्यान्वयन भएमा विभिन्न विभागका करिब ५० जना कर्मचारीको रोजगारी प्रभावित हुन सक्ने बताइएको छ।
रेडियो न्युजिल्याण्ड (RNZ) का अनुसार प्रस्तावित परिवर्तनले इकोनोमिक एन्ड इन्गेजमेन्ट, क्रिएटिभ क्यापिटल, प्रोपर्टी, प्लानिङ एन्ड इन्भाइरोन्मेन्ट लगायतका टोलीमा कार्यरत कर्मचारीलाई असर पार्न सक्छ।
काउन्सिलले यस विषयमा कर्मचारीसँग समूहगत र व्यक्तिगत छलफल सुरु गरिसकेको छ।
सार्वजनिक सेवा संघ (PSA) का सहायक सचिव टम बक्लीले प्रस्तावित कटौतीप्रति असन्तुष्टि जनाउँदै थप रोजगारी कटौती वेलिङ्टनका लागि आवश्यक नभएको बताएका छन्।
“यी कर्मचारीहरू सीप, अनुभव र परिवारको जिम्मेवारी बोकेका मानिसहरू हुन्। विशेषगरी रोजगारी बजार चुनौतीपूर्ण रहेको समयमा उनीहरूलाई थप असुरक्षामा पार्नु उचित होइन,” उनले भने।
उनले स्थानीय तह एकीकरण (council amalgamation) को सम्भावना रहेको अवस्थामा अहिले नै ठूलो पुनर्संरचना गर्नु गलत समय भएको पनि बताए।
“यस्तो समयमा पुनर्संरचना गर्नु उपयुक्त हुँदैन। प्रभावित कर्मचारीलाई सहयोग गर्न हामी तयार छौँ र काउन्सिललाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गर्छौँ,” बक्लीले भने।
७९ मिलियन डलर बचत गर्ने लक्ष्य
वेलिङ्टन सिटी काउन्सिलका प्रमुख कार्यकारी म्याट प्रसरले गत वर्ष काउन्सिलको कार्यप्रणाली, खर्च व्यवस्थापन र सेवा प्रभावकारिता अध्ययन गर्न डेलोइटलाई जिम्मेवारी दिएका थिए।
डेलोइटको प्रतिवेदनले वेलिङ्टन काउन्सिलमा समान आकारका अन्य काउन्सिलको तुलनामा करिब ३३० जना बढी कर्मचारी रहेको उल्लेख गरेको थियो।
हाल वेलिङ्टन सिटी काउन्सिलमा करिब १ हजार ६२० पूर्णकालीन कर्मचारी कार्यरत छन्।
प्रतिवेदनले कर्मचारी संरचना सुधार, खर्च नियन्त्रण र ठेक्का व्यवस्थापनमा सुधार गरेर तीन वर्षमा करिब ७९ मिलियन डलरसम्म बचत गर्न सकिने सुझाव दिएको थियो।
दर (Rates) घटाउने उद्देश्यले पुनर्संरचना
वेलिङ्टन सिटी काउन्सिलका प्रवक्ताले कर्मचारीसँग प्रस्तावित परिवर्तनबारे परामर्श प्रक्रिया भइरहेको पुष्टि गरेका छन्।
उनका अनुसार यो प्रक्रिया काउन्सिलको बजेट कटौती योजनाअन्तर्गत अघि बढाइएको हो। काउन्सिलले आगामी खर्च दबाब घटाउन ३१.७ मिलियन डलर बचत गर्ने लक्ष्य राखेको छ।
“परामर्श प्रक्रिया जारी रहेकाले रोजगारीसम्बन्धी विशेष विवरण अहिले सार्वजनिक गर्नु उचित हुँदैन। हाम्रो प्राथमिकता कर्मचारीलाई सहयोग गर्ने, उनीहरूको सुझाव सुन्ने र अन्तिम निर्णयमा ती सुझाव समेट्ने हो,” काउन्सिलले जनाएको छ।
काउन्सिलले परामर्श प्रक्रिया पूरा भएपछि अन्तिम निर्णय सार्वजनिक गर्ने बताएको छ।
प्रस्तावित कर्मचारी कटौतीले वेलिङ्टनमा सार्वजनिक सेवा, स्थानीय सरकारको खर्च व्यवस्थापन र कर्मचारी सुरक्षाबारे नयाँ बहस सुरु गरेको छ।
