काठमाडौं । ५ मंसिर
महाधिवेशन वा विशेष महाधिवेशन गर्ने भन्ने विवाद समाधानका लागि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पटक–पटक स्थगित गरेर शीर्ष तहमा सहमति खोज्ने प्रयास गरिए पनि शुक्रबार साँझसम्म कुनै निष्कर्ष ननिस्किएको नेताहरूले बताएका छन्। यद्यपि, शनिबार बिहान पुनः शीर्ष नेताहरूबीच अनौपचारिक छलफल बस्ने र यो बैठकबाट सहमति खोज्ने उनीहरुले दावी गरेका छन्।
गएराति र शुक्रबार दिनभर शीर्ष तहका नेताहरूले महाधिवेशन र विशेष महाधिवेशनको विवाद समाधानका लागि परामर्श गरे पनि सहमति मिल्न सकेन एक नेताले भने। संस्थापन पक्षले नियमित महाधिवेशनको कार्यतालिका ल्याउने प्रस्ताव राखे पनि विशेष महाधिवेशनको लिखित माग फिर्ता गर्नुपर्ने शर्त राखेपछि सहमति रोकिएको ती नेताको भनाई थियो ।
तर विशेष महाधिवेशन पक्षधर महामन्त्री गगण थापा लगायत उनी पक्षका नेताहरु उक्त शर्त मान्न तयार छैनन्। ती नेताका अनुसार, २९ असोजमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले पेस गरेको लिखित प्रस्ताव कुनै एक–दुई नेताले फिर्ता गर्न नसकिने विषय हो। केन्द्रीय सदस्य मधु आचार्य भन्छन्, “२४८८ प्रतिनिधिको माग कुनै व्यक्तिले फिर्ता गर्न सक्दैन। आफ्नो हस्ताक्षर मात्रै फिर्ता गर्न सकिन्छ, अरूको होइन।”
विधानअनुसार, विशेष महाधिवेशनको माग परेपछि तीन महिनाभित्र आह्वान गर्नुपर्ने व्यवस्था छ। यसअनुसार मागको समयसीमा २८ पुसमा सकिनेछ। यही कारणले कांग्रेसभित्र नियमित महाधिवेशन आगामी पुसमा सम्भव छ भन्ने पक्ष र विशेष महाधिवेशन अपरिहार्य हुने तर्कबीच टकराव बढिरहेको छ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, साथै नेता शेखर कोइराला, पुस १६–१९ भित्र नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनअनुसार अघि बढ्नुपर्ने अडानमा छन्। तर सभापति शेरबहादुर देउवा भने अनिर्णयमै रहेको बताइन्छ। उनलाई भेट्ने नेताहरूका अनुसार देउवाले सबै पक्षलाई आपसी सहमतितर्फ अघि बढ्न आग्रह गरिरहेका छन्।
यता, पूर्व पदाधिकारीहरूको एक समूह भने चुनावअघि कुनै पनि प्रकारको महाधिवेशन गर्न नहुने धारणा राखिरहेको छ।
केन्द्रीय समिति बैठक २८ असोजदेखि सुरु भए पनि महाधिवेशनबारे सर्वसम्मत वातावरण नबन्ने देखिएपछि बैठक स्थगित हुँदै आएको छ। नेताहरूको भनाइअनुसार, शनिबारको बैठक भने स्थगित नहुने र कुनै न कुनै निर्णय आउने अपेक्षा गरिएको छ।
