काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको समूह आज निर्वाचन आयोग जाने तयारीमा रहेको छ । नयाँ निर्वाचित कार्यसमितिको पहिलो बैठकपछि त्यसको निर्णयसहित गगन–विश्व समूहले आयोगमा अभिलेख अद्यावधिक गराउने तयारी गरेको हो ।

विशेष महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेकाले पार्टीको अभिलेख अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी गरिएको अधिवक्ता राजु कटवालले जानकारी दिए । उनका अनुसार बिहीबार मध्यान्ह १२ देखि १ बजेसम्म आयोग पुग्ने कार्यक्रम तय भएको छ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी कागजात तथा अभिलेख दस्तावेजीकरणका लागि कटवालसहितको टोलीले सहजीकरण गरिरहेको छ ।

बुधबार सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापति घोषणा गरेको थियो । यता, संस्थापन पक्षले भने गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूलाई पाँच वर्षका लागि कारबाही गरेको जनाएको छ ।