रङहरूको पर्व फागु अर्थात् होली काठमाडौँ उपत्यकासहित देशका पहाडी र हिमाली जिल्लामा हर्षोल्लास, आपसी सद्भाव र मेलमिलापका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै मनाइने यो पर्वले यस वर्ष स्वदेशी मात्र होइन, नेपाल भ्रमणमा आएका हजारौँ विदेशी पर्यटकलाई पनि आकर्षित गरेको देखिएको छ ।

काठमाडौँका प्रमुख पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्ग, वसन्तपुर दरबार क्षेत्र तथा पाटन दरबार क्षेत्रमा बिहानैदेखि रङ र अबिर उड्न थालेका थिए । सेतो पहिरनमा सजिएका युवायुवती, परिवार र पर्यटकहरू एकअर्कालाई सम्मानपूर्वक रङ लगाउँदै नाचगानमा झुमेका देखिन्थे ।

अमेरिकाको कान्सस राज्यबाट नेपाल भ्रमणमा आउनुभएका रायन हलले वसन्तपुरमा होलीको अनुभव लिँदै आफ्नो बसाइ केही दिन लम्ब्याएको बताउनुभयो । उहाँका अनुसार नेपालको प्राकृतिक सुन्दरता, धार्मिक आस्था र सांस्कृतिक जीवन्तताले आफूलाई गहिरो रूपमा प्रभावित बनाएको छ । “यहाँको पर्वमा सहभागी हुँदा मैले केवल रङ मात्र होइन, मानिसहरूको आत्मीयता र सद्भाव पनि महसुस गरेँ,” उहाँले भन्नुभयो ।

फ्रान्सबाट आएकी हेडी पिकार्डले आफ्नो चार सदस्यीय समूहसहित दिनभर ठमेल, दरबारमार्ग र वसन्तपुर क्षेत्रमा होली मनाएको अनुभव सुनाउनुभयो । “यहाँ कसैले हामीलाई परायाजस्तो व्यवहार गरेनन् । सबैले मुस्कानसहित रङ लगाइदिए । यस्तो आत्मीय वातावरण मैले अन्यत्र कमै देखेकी छु,” उहाँले प्रतिक्रिया दिनुभयो ।

चीनको सिचुवान प्रान्तबाट आउनुभएका सी जोङ्होङले दिनभर रङमा रमाउँदै बिताएको समय जीवनकै अविस्मरणीय क्षण भएको बताउनुभयो । इटालीबाट चार महिनाअघि नेपाल आउनुभएका डेनियलले पनि नेपाली युवासँगै होली खेल्दा आफू निकै उत्साहित भएको सुनाउनुभयो ।

पर्यटनमा सकारात्मक संकेत

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार सन् २०२६ को फेब्रुअरी महिनामा मात्र एक लाख १५ हजार ४४२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २४ प्रतिशतले बढी हो । फेब्रुअरी २०२५ मा ९६ हजार ८८० र फेब्रुअरी २०२४ मा ९३ हजार ४५५ पर्यटक नेपाल आएका थिए ।

सन् २०२६ को जनवरी महिनामा ९२ हजार ५७३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए, जुन अघिल्लो वर्षको तुलनामा झन्डै १६ प्रतिशतले वृद्धि हो । बढ्दो पर्यटक आगमनले होलीजस्ता सांस्कृतिक पर्वहरू अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बन्दै गएको संकेत गरेको छ ।

शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न

आसन्न निर्वाचनको पूर्वसन्ध्यामा होली परेकाले स्थानीय प्रशासनले मर्यादित र शान्तिपूर्ण रूपमा पर्व मनाउन आग्रह गरेको थियो । सार्वजनिक स्थलमा अवाञ्छित गतिविधि नगर्न, मदिराजन्य पदार्थको दुरुपयोग नगर्न र साङ्गीतिक कार्यक्रम सीमित गर्न अनुरोध गरिएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार काठमाडौँ उपत्यकासहित देशका विभिन्न पहाडी र हिमाली क्षेत्रमा होली शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । “निर्वाचन सुरक्षालाई असर नपरोस् भन्ने उद्देश्यले हामीले मर्यादित रूपमा पर्व मनाउन अपिल गरेका थियौँ । यस वर्ष कुनै उच्छृङ्खल वा अराजक गतिविधि नभएकाले पक्राउसमेत गर्नु परेन,” उहाँले बताउनुभयो ।

विगतमा होलीका अवसरमा दर्जनौँ व्यक्ति पक्राउ पर्ने अवस्था रहे पनि यसपटक पर्व शान्त र व्यवस्थित देखिएको छ । वसन्तपुर क्षेत्रबाहेक अन्य स्थानमा ठूलो भीडभाड भने देखिएन ।

समग्रमा, यस वर्षको फागु पर्वले नेपाली समाजको सहिष्णुता, सांस्कृतिक विविधता र आतिथ्यतालाई उजागर गर्दै पर्यटन क्षेत्रलाई समेत सकारात्मक सन्देश दिएको छ । रङ, संगीत र आत्मीयताले भरिएको होलीले स्वदेशी र विदेशी सबैलाई एकै रंगमा बाँध्न सफल भएको देखिन्छ । फोटो गोरखापत्रबाट