काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षा गर्न निर्वाचन मात्र विकल्प नभएकाले आगामी फागुन २१ गतेका लागि तोकीएको निर्वाचनमा केन्द्रीत हुन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले शुक्रबार शीतल निवासमा आह्वान गरेको अन्तरिम सरकार सहितको सर्वदलीय बैठकमा यस्तो आग्रह गरेका हुन् । उनले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई सुझाव पनि दिएका छन् ।
राष्ट्रपति पौडेललका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्नेमा राष्ट्रपति पौडेललेको जोड थियो ।
राजनीतिक दलहरूमा कुनै द्विविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पु¥याउँछ भन्ने पनि सोच्न आग्रह गरे । उनले पार्टीहरूले पनि कन्फ्युजन सृजना नगरी जेन–जीको माग पनि आफूहरूले पूरा गर्ने भनेर जनतामा जान आग्रह गर्दै दलहरूको सुरक्षाको चिन्तालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।
बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरू निर्वाचनमा जान सधैँ तयार रहेको बताउँदै अहिलेको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुने विषयमा संशय पैदा भएको बताएका थिए । उनीहरूले यो शंका र संशय हटाएर निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाउन सरकारले सक्नुपर्ने बताएका थिए ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभातिाबिना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको भन्दै स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाए । जेन–जीहरू हामीहरू सबैको छोरा, नाति भएकाले उनीहरूले किन आज यस्तो असन्तुष्टी व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह गरेका थिए ।
उक्त बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल सहभागी थिए ।
त्यस्तै, जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत् बज्राचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति, सहभागी थिए ।
