काठमाडौं । एनपीएलको ट्रफी लुम्बिनी लायन्सले उचालेको छ । २७ दिन लामो प्रतिस्पर्धा, ३२ खेल र अन्ततः लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग -एनपीएल_ को नयाँ च्याम्पियन बनेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइटमुनि पहिलो पटक आयोजना गरिएको एनपीएलको फाइनल डे–नाइट खेलका रूपमा सम्पन्न भयो। फाइनलमा लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जित्यो।

सुदूरपश्चिमलाई ८५ रनमै अलआउट गरेपछि लुम्बिनीले ८६ रनको सामान्य लक्ष्य ९ ओभरमै पूरा गर्‍यो। जितका क्रममा लुम्बिनीले ४ विकेट गुमायो।

लिग चरणमा चौथो स्थानमा रहेको लुम्बिनीले कुल १० खेल खेल्दै ७ खेलमा जित निकाल्यो। समान ७ जित हात पारेको सुदूरपश्चिम भने लगातार दोस्रो पटक उपविजेतामै सीमित भयो।

च्याम्पियन बनेपछि कप्तान रोहित पौडेलले यो सफलता सपनाजस्तै भएको बताए। ‘चार खेलपछि एक जित र तीन हारको अवस्थामा थियौं। त्यहाँबाट यहाँसम्म आइपुग्नु ठूलो उपलब्धि हो। एनपीएल जित्नु टिमवर्कको नतिजा हो,’ उनले पोष्ट–म्याच कन्फरेन्समा भने।
पहिलो सिजनमा लिगको अन्तिम स्थानमा सीमित लुम्बिनीले दोस्रो सिजनमा पूर्ण रूपान्तरण गर्‍यो। पहिलो खेलमा चितवन राइनोजलाई हराएपछि लगातार तीन खेल गुमाउँदा टोली संकटमा परेको थियो। तर पोखरा एभेन्जर्सविरुद्धको जितपछि लय समातेको लुम्बिनीले त्यसपछि खेलेका सबै ६ खेल जित्दै च्याम्पियनसम्मको यात्रा तय गर्‍यो।

पछिल्ला खेलहरूमा लुम्बिनीको बलिङ नै मुख्य हतियार बन्यो। प्लेअफका तीनै खेलमा विपक्षी टोलीलाई अलआउट गर्दै बलिङमा प्रभुत्व जमायो।

फाइनलमा कप्तान रोहित पौडेलको ह्याट्रिकसहित रुबेन ट्रम्पलम्यान र शेर मल्लको घातक बलिङले सुदूरपश्चिम ८५ रनमै समेटियो। रोहितले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन खर्चेर ३ विकेट तथा शेर मल्लले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए।

८५ रन एनपीएल फाइनलको सबैभन्दा कम योगफल हो। सुदूरपश्चिमका प्रशिक्षक जगत टमाटाले यो खेल आफ्नो टोलीको ‘ब्याड डे’ भएको स्वीकारे।

८६ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका ओपनर दिनेश अधिकारीले आक्रामक ब्याटिङ गरे। उनले १३ बलमा ५ छक्का र १ चौकासहित ४२ रन बनाए। पहिलो ओभरमै ४ छक्का प्रहार गरेपछि लुम्बिनी खेलको सुरुआतमै जित नजिक पुगेको थियो।

कप्तान रोहित पौडेल २७६ रन र १० विकेटसहित प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडी बने। उनले जेईको जे–५ कार, बेस्ट ब्याटरको अवार्ड र पल्सर मोटरसाइकल जिते।

रुबेन ट्रम्पलम्यान प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ लाख रुपैयाँ प्राप्त गरे। शेर मल्ल इमर्जिङ प्लेअर बनेर पल्सर मोटरसाइकल जित्न सफल भए। बेस्ट बलरको अवार्ड विराटनगरका सन्दीप लामिछानेले पाए भने सुदूरपश्चिमका अविनाश बोहराले इनर्जेटिक प्लेअरको अवार्ड प्राप्त गरे।