न्युजील्याण्डका विभिन्न क्षेत्रमा लगातार परेको भारी वर्षाका कारण पहिरो र जमिन भासिने जोखिम तीव्र रूपमा बढेको छ। यसका कारण देशका धेरै स्थानमा मुख्य सडकहरू अवरुद्ध भएका छन् भने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।
विशेष गरी बे अफ प्लेन्टी क्षेत्रमा वर्षाका कारण अवस्था गम्भीर बनेको छ। त्यहाँको लोकप्रिय पर्यटकीय क्षेत्र माउण्ट माउङ्गानुई (Mount Maunganui) मा पहिरोको जोखिम देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ। जमिन चर्किन थालेपछि र पहिरोको सम्भावना बढेपछि स्थानीय निकायले उक्त निर्णय लिएको हो।
सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै सो क्षेत्रका सबै पदमार्ग, प्रवेशद्वार र वरपरका क्षेत्रहरू बन्द गरिएको छ। क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको र प्रमुख प्रवेश बिन्दुहरूमा बार लगाइँदैछ। साथै, बन्द स्थानहरूमा सूचना बोर्ड र अवरोधहरू राखिएको छ भने क्षेत्रको निगरानी र सुरक्षा सुनिश्चित गर्न सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ।
यसैबीच, लगातारको वर्षाका कारण नर्थल्यान्ड, कोरोमाण्डेल, बे अफ प्लेन्टी र तैराव्हिती क्षेत्रमा बाढी र पहिरोका घटनाहरू बढिरहेका छन्। केही स्थानमा घर डुबानमा परेका छन् भने धेरै परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। तीव्र बहावका कारण कतिपय ग्रामीण सडकहरू अझै खुल्न सकेका छैनन्।
मौसम विभाग मेटसर्भिसले अधिकांश उत्तरी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गएको जनाएको भए पनि, भिजेको जमिनका कारण अझै पनि पहिरोको जोखिम कायमै रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
स्थानीय निकाय र आपतकालीन सेवाहरूले नागरिकलाई अनावश्यक यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा नजान र आधिकारिक सूचनाको पालना गर्न अनुरोध गरेका छन्।
Photos: Cameron Avery
