राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापान भ्रमणमा जानुहुने भएको छ। बिहीवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको नेतृत्वमा जाने प्रतिनिधिमण्डलको जापान भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल माघ १८ देखि २१ गतेसम्म तीन दिने औपचारिक भ्रमणमा जान लाग्नुभएको हो।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय पनि गरेको छ। प्रवक्ता अर्यालले २०८२ माघ १ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार आगामी फागुन १ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीका लागि रासन स्केल तथा दैनिक रासन रकम वृद्धि हुनेछ।