काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)बीच पार्टी एकता गर्ने सहमति भएको छ ।

बुधबार साँझ राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दुवै दलका शीर्ष नेताबीच भएको भेटघाटपछि पार्टी एकतामा सहमति जुटेको हो । सहमतिले राजावादी तथा राष्ट्रवादी शक्तिहरूबीच देखिएको विभाजन अन्त्य गर्दै एकीकृत रूपमा अघि बढ्ने मार्ग प्रशस्त गरेको बताइएको छ ।

बैठकले एकता सहमति पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको थियो, जसमा अध्यक्षद्वय कमल थापा र राजेन्द्र लिङदेनले हस्ताक्षर गर्नुभएको छ । एकता घोषणा सभा आगामी पुस १६ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने जनाइएको छ ।

सहमति पश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष थापाले जेन–जी युवाहरूको आन्दोलनले नेपालको समग्र राजनीतिमा तरङ्ग पैदा गरेको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रवादी शक्तिहरूको एकता समयको आवश्यकता रहेको बताउँदै जेन–जी आन्दोलनले भ्रष्टाचारको अन्त्य र सुशासनको माग उठाएको स्पष्ट गर्नुभयो । भ्रष्टाचार अन्त्य र सुशासन स्थापना गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिले मात्रै पूरा गर्न सक्ने दाबी गर्दै उहाँले सबै राष्ट्रवादी शक्तिलाई एक ठाउँमा आउन आह्वान गर्नुभयो ।

२०७८ मंसिरमा राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पार्टी छोडी राप्रपा नेपाल पुनर्गठन गर्नुभएको थियो । त्यसपछि दुवै पार्टी अलग–अलग रूपमा राजनीतिक गतिविधिमा सक्रिय थिए ।

आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राजावादी शक्तिहरूको एकताले राजनीतिक वृत्तमा नयाँ तरङ्ग ल्याउने अपेक्षा गरिएको छ । नेताहरूले यस एकताले राप्रपालाई थप सशक्त बनाउँदै राष्ट्रिय एजेन्डामा एकीकृत र प्रभावकारी आवाज उठाउने विश्वास व्यक्त गरेका छन् ।