न्युजिल्याण्डको सिजनल वर्क भिसासम्बन्धी विषयमा सामाजिक सञ्जालमार्फत पछिल्लो समय व्यापक प्रचार–प्रसार भइरहेको छ। आकर्षक तलब, छोटो समयमा भिसा, र निश्चित रोजगारीको आश्वासन दिँदै विभिन्न व्यक्ति तथा समूह सक्रिय भएपछि सर्वसाधारण नागरिक दुविधामा परेका छन्। भिसा लगाइदिने नाममा ठगीका घटना बढ्न थालेपछि सरोकारवाला निकायले सचेत रहन आग्रह गरेका छन्।
सिजनल वर्क भिसा के हो ?
न्युजिल्याण्ड सरकारले आफ्नो कृषिक्षेत्रमा श्रम अभाव पूर्ति गर्न विदेशी श्रमिकलाई अस्थायी रूपमा काम गर्न दिने व्यवस्थालाई Recognised Seasonal Employer (RSE) Scheme अन्तर्गत सञ्चालन गर्दै आएको छ। यही योजनाअन्तर्गत जारी गरिने भिसालाई सिजनल वर्क भिसा भनिन्छ। यो भिसा सीमित अवधिका लागि मात्र मान्य हुन्छ र निश्चित रोजगारदाता (Employer) सँग आबद्ध हुन्छ।
आवेदन प्रक्रिया कसरी अघि बढ्छ ?
सिजनल वर्क भिसाका लागि व्यक्तिगत रूपमा आवेदन दिन पाइँदैन। न्युजिल्याण्ड सरकारबाट आधिकारिक रूपमा मान्यता प्राप्त कम्पनी (Recognised Employer) बाट Job Offer प्राप्त भएपछि मात्र भिसा आवेदन प्रक्रिया सुरु हुन्छ। कम्पनीले आवश्यक कागजात संकलन गरी आप्रवासन विभाग (Immigration New Zealand) मार्फत आवेदन प्रक्रिया अघि बढाउँछ।
आवश्यक कागजातहरू
सिजनल वर्क भिसाका लागि प्रायः निम्न कागजात अनिवार्य मानिन्छन्ः
- न्यूनतम ६ महिनाभन्दा बढी वैधता भएको पासपोर्ट
- न्युजिल्याण्डस्थित मान्यता प्राप्त कम्पनीको Offer Letter / Appointment Letter
- स्वास्थ्य परीक्षण प्रतिवेदन (Approved Medical Centre बाट)
- प्रहरी चारित्रिक प्रमाणपत्र (Police Clearance Report)
- पासपोर्ट साइजका फोटो
- कामको अनुभव वा सीपसम्बन्धी प्रमाण
- भिसा आवेदन फारम र तोकिएको शुल्क
अफर लेटर र नियुक्ति पत्र कस्तो हुनुपर्छ ?
अफर लेटर वा नियुक्ति पत्रमा कम्पनीको आधिकारिक नाम, ठेगाना, इमेल, कामको प्रकृति, काम गर्ने अवधि, तलब, कामका सर्तहरू तथा कम्पनीको मान्यता (RSE Status) स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्छ। अनौपचारिक कागजात, व्यक्तिगत इमेल वा सामाजिक सञ्जालमार्फत पठाइएका अफर लेटरप्रति भर पर्नु गम्भिर भुल हुने छ ।
भिसा आउन कति समय लाग्छ ?
भिसा प्रक्रिया समय आवेदनको पूर्णता, कागजातको सत्यता र आप्रवासन विभागको कार्यचापमा निर्भर गर्दछ। सामान्य अवस्थामा सबै प्रक्रिया पूरा भएमा १ हप्ता देखि २ महिनासम्म समय लाग्न सक्छ।
सिजनल वर्कर लिने कम्पनीहरू को–को हुन् ?
न्युजिल्याण्डमा सिजनल वर्कर लिन पाउने कम्पनीहरू मुख्यतः फलफूल खेती, किवीफ्रुट, एप्पल, वाइनयार्ड, बेरी फार्म तथा प्याकहाउस सञ्चालन गर्ने व्यवसायहरू हुन्। यस्ता कम्पनीहरू Recognised Seasonal Employer का रूपमा दर्ता भएका हुनुपर्छ। आधिकारिक सूची न्युजिल्याण्ड सरकारको इमिग्रेसनको वेभसाइडमा उल्लेख छ ।
ठगीबाट बच्न के गर्ने ?
- सामाजिक सञ्जालमा देखिने भ्रामक विज्ञापनमा विश्वास नगर्नु
- भिसा लगाइदिने नाममा पैसा माग्ने व्यक्ति वा संस्थाको वैधता जाँच गर्नु
- आधिकारिक सरकारी स्रोतबाट मात्र जानकारी लिनु
- शंका लागेमा सम्बन्धित निकाय वा आप्रवासन विज्ञसँग परामर्श गर्नु
निष्कर्ष
न्युजिल्याण्डको सिजनल वर्क भिसा वैधानिक र अवसरयुक्त कार्यक्रम भए पनि यसको प्रक्रिया स्पष्ट नियम र मापदण्डभित्र परेमा मात्र भिसा लाग्न सक्छ । नत्र खर्च मात्र हुन्छ । त्यसैले गलत प्रचार, भ्रामक सूचना र ठगीबाट बच्न सही जानकारी लिनु अत्यावश्यक छ।
