भारत । भारतको मेघालय राज्यमा रहेको कोइलाखानीमा भएको विस्फोटमा परी खोटाङका एकाघरका दुई दाजुभाइको ज्यान गएको छ। बिहीबार मेघालयको उम्साङघाटस्थित कोइलाखानीमा ब्लास्टिङ गर्ने क्रममा भएको आगलागीमा बराहपोखरी गाउँपालिका–१ सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी र उनका २४ वर्षीय भाइ सुरेन्द्र खपाङ्गीको मृत्यु भएको हो।
उक्त घटनामा बराहपोखरी भञ्ज्याङका बमबहादुर खपाङ्गी, सालघारीका कर्णबहादुर खपाङ्गी र नरबहादुर खपाङ्गी तथा उदयपुर साउनेका ललित मगर घाइते भएका छन्। सात जनाको समूहमा रहेका बराहपोखरी बालम्पाका ताराबल मगर भने सकुशल रहेका छन्।। ताराबलले नै फोनमार्फत घटनाको जानकारी दिएको छिमेकी शिवकुमार श्रेष्ठले बताए ।
ताराबलका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ। मृतक तथा घाइतेहरू रोजगारीका लागि गत पुस ३ गते मेघालय पुगेका थिए। खोटाङका विभिन्न स्थानका स्थानीयहरू रोजगारीको खोजीमा मेघालय जाने क्रम बढ्दो छ।
बीबीसीका अनुसार उक्त विस्फोटमा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।
तस्वीर : दिलीप कुमार शर्मा, बीबीसी हिन्दी
