भेनेजुएलाकी मारिया कोरीना माचाडोले यस वर्षको नोबेल शान्ति पुरस्कार पाउने भएकी छीन । नर्वेजियन नोबेल समितिले माचाडोलाई नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो । उनी भेनेजुएलाकी विपक्षी नेतृ पनि हुन् ।
समितिका अनुसार कोरीना माचाडोले विश्वब्यापि बढ्दो अन्धकार विरुद्ध लोकतन्त्रको ज्योति बालिरहने’ काममा महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै सो पुरस्कार दिने निर्णय गरेको हो ।
गत शुक्रबार ओस्लोमा आयोजित एक समारोहमा पुरस्कारको घोषणा गर्दै, समितिले माचाडोको तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको लागि संघर्ष’ को प्रशंसा गरेको थियो ।
नोबेल समितिका अध्यक्षका अनुसार भेनेजुएलाको विपक्षी दलले चुनावी अनुगमनकर्ताको सहयोगमा संकलित मतदान परिणाम सार्वजनिक गर्दा अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेको थियो । तर शासकले परिणाम अस्वीकार गरेर सत्तामा टाँसिरह्यो । ‘स्थायी शान्तिको लागि लोकतन्त्र पूर्वसर्त हो । तर हामी आज यस्तो संसारमा बाँचिरहेका छौं, जहाँ लोकतन्त्र पछि हट्दैछ’ उनले भने ।
उनले चेतावनी दिँदै धेरैजसो अधिनायकवादी शासकहरू सामान्य मान्यताहरूलाई चुनौती दिइरहेका छन् र हिंसाको सहारामा जाने क्रम बढ्दो छ रहेको बताए ।

भेनेजुएलाको नेतृत्वको आलोचना गर्दै उनले भने,’ यस्तै प्रवृत्ति हामी संसारभर देखिरहेका छौं ९जहाँ कानूनी शासनलाई सत्तामा बसेकाहरूले दुरुपयोग गर्छन्, स्वतन्त्र सञ्चारमाध्यमहरूलाई चुप लगाइन्छ, आलोचकहरू जेल हालिन्छन्, र समाजलाई अधिनायकवाद तथा सैन्यकरणतर्फ धकेलिन्छ।’

नोबेल समितिका अध्यक्ष योर्गेन वाट्ने फ्राइडनेसलाई शुक्रबार पत्रकार सम्मेलनमा मारिया कोरीना माचाडोको सुरक्षा र अवस्थाबारे सोधिएको थियो । उनले उनको बारेमा धेरै बताएनन् ।

‘हामी हरेक वर्ष यो विषयमा छलफल गर्छौं, विशेषतः जब पुरस्कार प्राप्तकर्ताको ज्यानमाथि गम्भीर खतरा भएको कारण उनी लुकेर बस्नुपरेको हुन्छ’ फ्राइडनेसले भने । उनले माचाडो भेनेजुएलामा सक्रिय छिन् र सक्रिय रहिरहनेछिन् भन्ने धारणा राखे । ‘यो पुरस्कारले उनको अभियानलाई सीमित होइन, बरु समर्थन गर्नेछ’ उनले भने ।