तौरङ्गा । माउन्ट मङ्गानुईमा दुई हप्ता अघि गएको विनाशकारी पहिरो आसपासको जमिनको भविष्य र क्याम्पसाइट पुनः सञ्चालनको सम्भावना तत्कालका लागि कम रहेको तौरङ्गाका मेयर माहे ड्राइस्डेलले बताएका छन्।

अत्यधिक वर्षाका कारण पहाडको एक भाग क्याम्पग्राउन्डमा खस्दा छ जनाको ज्यान गएको थियो। बुधबार मेयर ड्राइस्डेलले माउआओ (माउन्ट मङ्गानुई) का लागि एक महिनाको “संक्रमणकाल” सुरु गरिएको घोषणा गर्दै क्षतिको मूल्याङ्कन र पुनः खोल्ने योजना बनिरहेको भए पनि कहिले खुल्छ भन्ने विषयमा अहिले नै एकिन गर्न नसकिने बताए।

उनका अनुसार पहिरो क्षेत्रको भविष्यबारे निर्णय गर्न प्रभावित परिवार, स्थानीय समुदाय र इवी (माओरी समुदाय) सँग विस्तृत परामर्श आवश्यक हुनेछ। “जहाँ पहिरो गएको हो, त्यहाँ क्याम्पग्राउन्ड रहने छ या छैन भन्ने विषयमा निर्णय गर्न अझै छलफल आवश्यक छ,” उनले भने।

हाल माउआओमा पहुँच सीमित गरिएको छ भने मरीन परेड र एडम्स एभिन्यूका केही भागमा अवरोध कायमै छन्। भू–प्राविधिक विशेषज्ञहरूले जोखिम मूल्याङ्कन गरिरहेका छन्। मेयरले वेटाङ्गी सप्ताहन्तअघि नजिकका व्यवसायहरू सुरक्षित रूपमा खोल्ने लक्ष्य रहेको बताए। एडम्स एभिन्यूका तीन व्यवसाय अझै बन्द भए पनि शुक्रबारसम्म खोल्न सकिने आशा गरिएको छ। Photo RNZ Ntional