काठमाडौं — मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले अब आफ्नो आगामी यात्रा सक्रिय राजनीतिको हुने स्पष्ट पारेका छन् । ‘उज्यालो नेपाल’ निर्माणका लागि राजनीतिमार्फत अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताको पक्ष, राष्ट्रको हित र सत्यको मार्गबाट कहिल्यै नहट्ने बताएका छन् ।
प्रधानमन्त्रीसहितको आग्रहपछि घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएका हुन् । राजीनामापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब भोलिदेखि नै आफू पूर्ण रूपमा राजनीतिमा सक्रिय हुने बताए ।
यसअघि मन्त्रालयको जिम्मेवारीका कारण खुला रूपमा राजनीतिक गतिविधिमा संलग्न हुन नसकेको उल्लेख गर्दै घिसिङले अब भने जनस्तरमै सक्रिय भएर अघि बढ्ने स्पष्ट गरे ।
“म पदबाट बाहिरिएको छु, तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन,” उनले भने, “उज्यालो नेपाल बनाउन सशक्त रूपमा अबको मेरो बाटो राजनीतिक यात्रा नै हुनेछ । यही मार्गमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।”
घिसिङले देशभित्र देखिएका समसामयिक समस्या, वर्तमान राजनीतिक अवस्था र त्यसमा आवश्यक परिवर्तनका लागि आफूले राजनीतिक नेतृत्वमा जाने निर्णय गरेको बताए ।
“अब त्यो समय आएको छ । भोलिदेखि नै मेरो राजनीतिक जीवन सुरु हुन्छ र प्रभावकारी रूपमा अघि बढ्छ,” उनले भने, “देशको वर्तमान अवस्था परिवर्तन गर्नका लागि आज मन्त्रिपरिषद्बाट राजीनामा दिएर राजनीतिक यात्रातर्फ अघि बढेको हुँ ।”
यसअघि घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच सहमति अनुसार उनलाई उपसभापति बनाउने समझदारी भएको चर्चा चलेको थियो । तर, घिसिङले उक्त समझदारी अहिलेसम्म कार्यान्वयनमा नआएको स्पष्ट पारे ।
“उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा मेरो नाम उल्लेख भए पनि त्यो हालसम्म कार्यान्वयनमा आएको छैन,” उनले भने, “मैले अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको औपचारिक सदस्यता लिएको छैन ।”
घिसिङको राजनीतिक प्रवेशले नेपाली राजनीतिमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ भने आगामी दिनमा उनले कुन राजनीतिक धार र संरचनाबाट अघि बढ्छन् भन्ने चासो बढेको छ ।
