काठमाडौं – मध्यपूर्वका विभिन्न देशहरूले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेपछि विश्वव्यापी हवाई सेवा प्रभावित भएको छ। यसको प्रत्यक्ष असर नेपालसहित खाडी मुलुकतर्फ आवतजावत गर्ने हजारौं यात्रुमा परेको छ। विशेषगरी वैदेशिक रोजगारी, अध्ययन तथा ट्रान्जिटमार्फत तेस्रो मुलुक यात्रा गर्ने यात्रुहरू समस्यामा परेका छन्।
हवाई क्षेत्र बन्द गर्ने देशहरूमा कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइन रहेका छन्। यी देशहरूले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै हवाई मार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय उडान तालिकामा व्यापक फेरबदल भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट सञ्चालन हुने खाडी तथा क्षेत्रीय गन्तव्यका धेरै उडान रद्द, केही स्थगित र केही प्रतीक्षारत अवस्थामा राखिएका छन्। आइतबार दिउँसोसम्म पूर्ण अवरोध नभए पनि असामान्य अवस्था कायमै रहेको विमानस्थल प्रशासनले जनाएको छ।
Qatar Airways ले कतारको हवाई क्षेत्र असुरक्षित भएको जनाउँदै आफ्ना उडान तत्कालका लागि स्थगित गरेको घोषणा गरेको छ। कतारको उड्डयन प्राधिकरणले हवाई क्षेत्र पुनः खुला भएको घोषणा गरेपछि मात्र उडान सञ्चालन गरिने जनाएको छ।
हवाई क्षेत्र प्रतिबन्धका कारण प्रभावित उडानहरूमा Kuwait Airways को कुवेत–काठमाडौं–कुवेत, Air Arabia को शारजाह–काठमाडौं–शारजाह, Flydubai को दुबई–काठमाडौं–दुबई, Air Arabia Abu Dhabi को अबुधाबी–काठमाडौं–अबुधाबी, Nepal Airlines का काठमाडौं–दोहा र काठमाडौं–दुबई उडान तथा कतार एअरवेजका दुई काठमाडौं–दोहा उडान समावेश छन्।
त्यसैगरी Himalaya Airlines का दुबई–काठमाडौं, काठमाडौं–दमाम, काठमाडौं–दोहा, काठमाडौं–दुबई, दमाम–काठमाडौं लगायतका उडानहरू प्रभावित भएका छन्। नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम–काठमाडौं उडान हाल प्रतीक्षारत अवस्थामा राखिएको छ।
शनिबार रातिसम्म केही उडान भने सफलतापूर्वक सञ्चालन भएका थिए। जजीरा एअरवेज, कुवेत एअरवेज, एअर अरेबिया, फ्लाई दुबई, एअर अरेबिया अबुधाबी तथा टर्किस एअरलाइनको इस्तानबुल उडान सम्पन्न भएको विमानस्थलले जनाएको छ। कतारका तीन उडान नेपालतर्फ र एक उडान कतारतर्फ सञ्चालन भए पनि दुई उडान रद्द हुँदा कतारका दुई जहाज काठमाडौंमै रोकिएका छन्।
नागरिक उड्डयन प्राधिकरणका अनुसार १ मार्च २०२६ दिउँसो १२:२० बजेसम्म कुल १० वटा अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा करिब १ हजार ६ सयभन्दा बढी यात्रु प्रत्यक्ष असरमा परेका छन्। जजीरा एअरवेजका दुई उडानबाट करिब २५०, एअर अरेबियाका दुई उडानबाट करिब ३००, एअर अरेबिया अबुधाबीका दुई उडानबाट करिब २८०, कतार एअरवेजका दुई उडानबाट करिब ४५० तथा फ्लाई दुबईका दुई उडानबाट करिब ३२० यात्रु प्रभावित भएका छन्।
मध्यपूर्व क्षेत्र विश्व हवाई यातायातको महत्वपूर्ण केन्द्र भएकाले यहाँको अवरोधले युरोप, अफ्रिका र एसियाबीचको ट्रान्जिट उडानमा समेत प्रभाव पारेको छ। तेलको मूल्यमा सम्भावित वृद्धि र ढुवानी अवरोधले विश्व अर्थतन्त्रमा समेत असर पार्न सक्ने विश्लेषण गरिएको छ।
विमानस्थल प्रशासनले सम्बन्धित एअरलाइनसँग समन्वय गरी वैकल्पिक उडान, पुनः टिकट व्यवस्थापन तथा यात्रु सहजीकरणको काम भइरहेको जनाएको छ। यात्रुहरूलाई उडान अवस्थाबारे नियमित जानकारी लिन सम्बन्धित एअरलाइन वा ट्राभल एजेन्सीसँग सम्पर्क राख्न आग्रह गरिएको छ। हवाई क्षेत्र प्रतिबन्ध यथावत रहेमा थप उडानहरू समेत प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।
