हालै गरिएको जनमत सर्वेक्षणमा नेशनल पार्टीभन्दा लेबर पार्टीले उच्च समर्थन प्राप्त गरेको देखिएको छ। जीवनयापन खर्चलगायत आम नागरिकसँग प्रत्यक्ष सम्बन्धित मुद्दालाई प्राथमिकता दिने लेबर पार्टीले यी प्रमुख विषयमा नेशनलभन्दा अग्रता कायम गरेको सर्वेक्षणले संकेत दिएको छ।
लेबर पार्टीको वार्षिक सम्मेलनको उद्घाटन गर्दै पार्टी नेता क्रिस हिप्किन्सले पार्टी पूर्ण रूपमा एकजुट रहेको र आगामी २०२६ को आम निर्वाचनलाई लक्षित गर्दै “अभियान मोड” मा प्रवेश गरिसकेको घोषणा गरे। उनले भने, “हामी ऊर्जाशील छौँ, केन्द्रित छौँ, र यो सरकारलाई एक कार्यकालमै परिवर्तन गर्ने दृढ संकल्पमा छौँ।”
उपनेता कार्मेल सेपुलोनीले वर्तमान गठबन्धन सरकारका नीतिहरूका कारण स्वास्थ्य सेवा कमजोर भएको, आवास र पूर्वाधार योजनाहरू रोकिएको, बेरोजगारी बढेको र जीवनयापन खर्च थप चर्किएको आरोप लगाइन्। उनले पार्टी कार्यकर्तालाई निरन्तर सक्रिय रहन आग्रह गर्दै विविधतामा आधारित एकता नै लेबरको प्रमुख बल रहेको बताइन्।
पार्टी अध्यक्ष जिल डेले सर्वेक्षणमा देखिएको समर्थनलाई लेबरप्रति जनविश्वास पुनः स्थापित हुन थालेको संकेतका रूपमा व्याख्या गरे। उनका अनुसार देशभरका शाखाहरू सक्रिय हुँदैछन् र चुनावी अभियानका लागि आवश्यक संगठनात्मक संरचना सुदृढ बनाइँदै छ।
यसैबीच, न्यूजिल्याण्ड काउन्सिल अफ ट्रेड युनियन्स (NZCTU) की अध्यक्ष सान्ड्रा ग्रेले श्रमिक वर्गले वास्तविक परिवर्तन चाहेको उल्लेख गर्दै लेबर पार्टीलाई अझ साहसी र निर्णायक नीति अपनाउन आग्रह गरिन्। उनले गठबन्धन सरकारले “युनियन आन्दोलनमाथि आक्रमण” गरिरहेको आरोप लगाउँदै श्रमिक अधिकारको सुरक्षा र युनियन–लेबर सहकार्य अनिवार्य रहेको बताइन्।
पार्टी नेतृत्वका अनुसार स्वयंसेवकको सक्रियता बढ्दै जानु र स्थानीय संरचना थप मजबुत बन्दै जाँदा लेबर अब पूर्ण रूपमा चुनावी अभियानमा केन्द्रित भइसकेको छ। पार्टीले २०२६ मा सरकार पुनः गठन गर्ने आफ्नो लक्ष्य दृढतापूर्वक दोहोर्याएको छ।
