काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षित नेपालको आधार आजका युवाले नै तयार गर्ने बताउनुभएको छ। भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो।
गृहमन्त्री अर्यालले राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई पोस्टर टाँस्ने वा औपचारिक कार्यक्रममै सीमित गर्नु नहुने उल्लेख गर्नुभयो। उहाँका अनुसार यस दिवसलाई विद्यालय, अस्पताल, सरकारी कार्यालय, उद्योग तथा समुदायसम्म पुग्ने दीर्घकालीन जनचेतना अभियानका रूपमा विकास गर्न आवश्यक छ, जसले भूकम्प सुरक्षित निर्माण, सुरक्षित बसोबास र सुरक्षित व्यवहारलाई प्रवर्द्धन गर्नेछ।
भूकम्पको पहिलो प्रतिकार्य स्थानीय तहबाट सुरु हुने भएकाले स्थानीय तहको सक्रिय सहभागिता अनिवार्य रहेको उहाँले बताउनुभयो। कार्यक्रम भाषणमुखी नभई परिणाममुखी हुनुपर्नेमा जोड दिँदै उहाँले व्यवहारमा देखिने तयारी र सचेतनाबाट मात्रै जोखिम न्यूनीकरण सम्भव हुने धारणा राख्नुभयो।
– न्युज एजेन्सी नेपाल
