काठमाडौं — वैदेशिक रोजगारीका लागि युरोपेली देश बुल्गेरिया र क्रोएसिया पठाइदिने भन्दै एक कन्सल्टेन्सीले १२० जनाभन्दा बढी व्यक्तिबाट १८ करोड रुपैयाँभन्दा बढी रकम उठाएर फरार भएको खुलासा भएको छ ।

कोटेश्वर नजिकै सञ्चालनमा रहेको ‘कोज्मो कन्सल्टेन्सी’ले बुल्गेरिया र क्रोएसियामा रोजगारी दिलाउने भन्दै ठूलो रकम संकलन गरेको र सञ्चालक सम्पर्कविहीन बनेको पीडितहरूको भनाइ छ । कन्सल्टेन्सीले प्रतिव्यक्ति १ लाखदेखि २ लाख ८५ हजार रुपैयाँसम्म असुलेको पाइएको छ ।

पीडितका अनुसार उनीहरूलाई ४ जनवरीमा भारतको नयाँदिल्ली हुँदै गन्तव्य मुलुक पठाइने बताइएको थियो । सोहीअनुसार यात्रा तयारी गरिरहेका बेला कन्सल्टेन्सी कार्यालय अचानक बन्द भएको थाहा पाएपछि पीडितहरू कोटेश्वरस्थित कार्यालय पुगेका थिए । तर, कार्यालयमा ताला लागेको पाएपछि आफूहरू ठगीमा परेको स्पष्ट भएको उनीहरूको भनाइ छ ।

त्यसपछि पीडितहरू प्रहरी र वैदेशिक रोजगार विभागमा उजुरी दिन पुगेका छन् । प्रारम्भिक अनुसन्धानमा कन्सल्टेन्सीले करिब ३०० जनासम्मबाट १५ देखि १८ करोड रुपैयाँ उठाएको आशंका गरिएको छ ।

कसरी परे ठगीमा?

पीडितहरूका अनुसार सामाजिक सञ्जाल, विशेषगरी फेसबुकमा बुल्गेरिया र क्रोएसियामा रोजगारीको विज्ञापन देखेपछि उनीहरू कन्सल्टेन्सी पुगेका थिए । विभिन्न पदका लागि माग आएको भन्दै आवेदन दिन लगाइएको र काउन्सेलिङ पनि विश्वासिलो देखिएकाले प्रक्रिया अघि बढाइएको उनीहरूको भनाइ छ ।

पहिलो चरणमा प्रहरी रिपोर्टका नाममा २५ देखि ३० हजार रुपैयाँ कन्सल्टेन्सीको बैंक खातामा जम्मा गर्न लगाइएको थियो । त्यसपछि वर्क पर्मिट प्रक्रिया अघि बढाउन दिल्ली जानुपर्ने वा नजाने भए थप शुल्क तिर्नुपर्ने बताइएको थियो । एम्बेसीमा स्ट्याम्पिङ र भेरिफिकेसन आफैं नगरे कन्सल्टेन्सीले गरिदिने भन्दै प्रतिव्यक्ति २५ हजार रुपैयाँ थप असुलिएको पीडितहरूले बताएका छन् ।

३–४ महिनापछि वर्क पर्मिट र कन्ट्र्याक्ट पेपर दिइएको र कागजात हेर्दा सबै प्रक्रिया ठीक देखिएकाले थप रकम बुझाउन आफूहरू तयार भएको पीडितको भनाइ छ । मेडिकल परीक्षणका लागि थप ५ हजार ५ सय रुपैयाँ लिइएको र धेरैले करिब २ लाख रुपैयाँसम्म बुझाएका थिए ।

कन्सल्टेन्सीले ५ जनवरीमा दिल्लीस्थित भीएफएसको अपोइन्टमेन्ट भएको भन्दै ४ जनवरीमा दिल्ली जानुपर्ने जानकारी दिएको थियो । कतिपयलाई आफैं जान भनिएको थियो भने कतिपयलाई सँगै लैजाने भनिएको थियो । सँगै जानेहरूबाट गाडी भाडा र खानासमेतका लागि १८ हजार रुपैयाँ थप संकलन गरिएको थियो ।

तर, ३ जनवरी रातिसम्म पनि यात्रासम्बन्धी स्पष्ट जानकारी नदिइएको र ४ जनवरी बिहानसम्म कुनै अपडेट नआएपछि फोन गर्दा सबै नम्बर बन्द भेटिएको पीडितहरूले बताएका छन् । पछि कार्यालयको वाइफाइ प्रयोग गरेर सञ्चालकहरू फरार भएको आशंका गरिएको छ ।

ठगीको शंका भएपछि पीडितहरू कार्यालय पुगेका थिए । कार्यालय खोल्दै गरेका दुई महिलालाई नियन्त्रणमा लिएर प्रहरी बोलाइएपछि प्रारम्भिक अनुसन्धानमा ठूलो मात्रामा ठगी भएको तथ्य बाहिर आएको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।