बंगलादेशमा हालै सम्पन्न आम निर्वाचनपछि उत्पन्न ऐतिहासिक राजनीतिक परिवर्तनसँगै बंगलादेश नेशनल पार्टी (बीएनपी)का अध्यक्ष तारिक रहमानले मंगलबार देशका ११औँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन्। पूर्व प्रधानमन्त्री स्वर्गीय खालिदा जियाका पुत्रसमेत रहेका रहमानले स्पष्ट बहुमतसहित सरकारको नेतृत्व सम्हालेका हुन्।
ढाकास्थित संसद भवनको साउथ प्लाजामा अपराह्न ४ बजे आयोजित विशेष समारोहमा राष्ट्रपति मोहम्मद शहाबुद्दीनले रहमानलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। सोही अवसरमा नवगठित मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन्। आम निर्वाचनमा शानदार जित हात पार्दै रहमानले अन्तरिम सरकारका प्रमुख मोहम्मद युनूसको स्थान लिएका हुन्।
नयाँ मन्त्रिपरिषद्मा डा. खलीलुर रहमानलाई परराष्ट्र, सलाहुद्दीन अहमदलाई गृह, डा. अमीर खसरू महमूदलाई अर्थ तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने शमा ओबैद परराष्ट्र राज्यमन्त्री नियुक्त भएकी छन्। नयाँ सरकारले आर्थिक स्थिरता, सुशासन र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणलाई प्राथमिकतामा राख्ने संकेत दिएको छ।
शपथग्रहण समारोहमा विभिन्न देशका कूटनीतिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। शपथअघि बिहान ११:३० बजे बसेको बीएनपी संसदीय दलको बैठकले औपचारिक रूपमा रहमानलाई संसदीय दलको नेता चयन गरेको थियो। प्रधानमन्त्री बनेपछि उनले विपक्षी दलका नेताहरूसँग भेटवार्ता गर्दै सहकार्य र राजनीतिक स्थायित्वका लागि संवादलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
हालै सम्पन्न निर्वाचनमा बीएनपीले २९७ सिटमध्ये २०९ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ। जमात–ए–इस्लामी ६८ सिटमा सीमित भएको छ। यसपटकको निर्वाचनमा शेख हसीनाको अवामी लीगलाई प्रतिस्पर्धा गर्न अनुमति दिइएको थिएन। फेब्रुअरी १२ मा सम्पन्न मतदानपछि अल्पसंख्यक समुदायबाट चार जना सांसद निर्वाचित भएका छन्, जसमा दुई जना हिन्दू समुदायका बीएनपी उम्मेदवार रहेका छन्।
नयाँ सरकारको आगमनसँगै बंगलादेशमा राजनीतिक स्थिरता र आर्थिक सुधारप्रति नागरिकको अपेक्षा बढेको छ।
