नेपालीहरुको महान दोस्रो ठूलो पर्व तिहारको पुर्वसन्ध्यामा छौं हामी । आम नेपालीलाई तिहारले धेरै कुराको सम्झना र महत्व झल्काउछ । तिहारले विशेष गरी दाजु बहिनीबीचको प्रघट सम्वन्धलाई थप सुमधुर र जीवन्त बनाउछ । झिलिमिलि बत्तिले गाउँ घर उज्याले हुँन्छ । रंगिविरंगी फूलहरुले घर र आगन सजिएका हुन्छन् । त्यसैले भन्ने गरिन्छ तिहार फूलहरुको पर्व पनि हो ।
फूल बेगरको तिहारको कुनै रौनक नै हुँदैन । त्यसैले आफ्नो घरबारीमा फूल छैन भने पनि निकै टाढा टाढा पुगेर भए पनि फूल किनेर ल्याउने र आफ्नो घर सजाउने गरिन्छ । अझ तिहारको अन्तिम दिन दिन त दिदीबहिनीले भाइ–टीका लगाएपछि फूलमाला लगाइदिन पनि अनिर्वाय नै फूलको प्रवन्ध गर्नु पर्ने हुन्छ । यही प्रचलनले नै तिहार पर्वमा फूलको सौन्दर्य थप बढाएको छ ।
फूल भावनात्मक सम्बन्ध साट्ने माध्यम पनि हो । यो हो– प्रेमको प्रतीक, सम्मान, आदारभाव प्रकट गर्ने साधन । र, ‘देउता’ लाई अर्पण गर्ने प्रसादरूपी उपहार ।
फूलको अनुपम सौन्दर्य देखेर मान्छे मोहित हुन्छ । फूलदेखि मान्छे सुवासित हुन्छ । टपक्क टिपेर शिरमा सिउरिन हतारिन्छ, मान्छे । फूल हेर्न, त्यसको समीप जान, त्यसलाई स्पर्श गरी आनन्द लिन, सुगन्धको सुखानुभूति गर्न लालायित हुन्छ, मान्छे ।

संस्कृतिविद् गोविन्दराज टण्डनका अनुसार सयपत्री फूलमा सयौं पत्र हुने भएकाले तिहारमा सयपत्री फूलको माला लगाइदिएर दिदीबहिनीले दाजुभाइको समृद्धि र सयौं वर्ष आयुको कामना गर्छन् ।
तिहार, फूल अनि मालाको सम्बन्ध र महत्त्व पौराणिककालदेखि नै रहँदै आएको मानिन्छ । वरिष्ठ वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ भन्छन्, ‘चाडपर्व ऋतु र मौसमसँग सम्बन्धित छन् । मखमली, सयपत्री र गोदावरी रैथाने फूल त होइन, तर यी सद्भावका प्रतीक र दीर्घजीवी भएकाले तिहारमा प्रयोग गर्न थालिएका हुन् । वनस्पतिविद् श्रेष्ठ भन्छन्, ‘नेवारी परम्परामा नभई नहुने फलमा बिमिरो, ओखर र कटुस हुन् भने फूलमा मखमली ।’
तिहारमा प्रयोग गरिने सबै फूल घर–खेतीका हुन् । यी फूलहरू कृषिउत्पादनसँग जोडिएका छन् । किसानीखेती प्रणालीभित्र रहेकाले पनि फूललाई तिहार पर्वमा सम्मानपूर्वक मालाका रूपमा पहिरिने चलन चलाइएको वनस्पतिविद् श्रेष्ठ बताउँछन् ।
एक कथनअनुसार, परापूर्वकालमा यमराजकी बहिनी यमुनाले दाजुलाई आफ्नो घरमा बोलाई यमपञ्चक अवधिभर घरमै राखेर सप्तरंगी टीका लगाइदिएकी थिइन् । त्यसपछि तिहार पर्व सुरुवात भएको हो । यस पर्वमा दिदीबहिनीले दाजुलाईलाई सप्तरंगी टीका लगाइदिने र साथमा विभिन्न थरीका सुगन्धित फूलको माला लगाइदिने चलन छ । तिहारको मुख्य आकर्षण नै फूलको माला हो भन्दा फरक पर्दैन ।
तिहारको यमपञ्चकमा हरेक दिन फूलको प्रयोग महत्त्वपूर्ण हुन्छ । लक्ष्मीपूजाको दिन सयपत्री, गोदावरी फूल अर्पण गरी धनर समृद्धिको कामना गर्दै पूर्जा गरिन्छ । गाई तिहारमा फूलको माला लगाइदिएर गाईलाई पूजा गर्ने चलन छ । तिहारमा गोरुको समेत पूजा गरिन्छ । यसले कृषिप्रधान नेपाली समाजमा गाई–गोरुको महत्त्व र सम्मान झल्काउँछ । कुकुर र कागको समेत यही पर्वमा पूजा हुन्छ र त्यतिबेला पनि फूल कै प्रयोग गरिन्छ ।
तिहारमा मखमली, सयपत्री र गोदावरी फूलको बढी प्रयोग हुने गर्छ । मखमली लामो समय नसुक्ने, टिकिराख्ने भएकाले यसलाई दीर्घायु र अमर प्रेमको प्रकृतिका रूपमा लिइन्छ ।
संस्कृतिविद् टण्डन भन्छन्, ‘भाइटीकामा दुबोको माला पनि लगाइदिने चलन छ । दुबोलाई कहिल्यै नओइलाउने रूपमा लिइन्छ ।’ माला लगाइदिँदा फूलजस्तै जीवन सुन्दर बनोस् र कहिल्यै नओइलियोस भन्ने कामना पनि गरिन्छ । भनिन्छ, दिदीबहिनीले लगाइदिने फूलको माला आत्मीयताको सुगन्ध पनि हो । जसले चेली–माइतीको सम्बन्ध वर्षौंसम्म टिकाइराख्न भूमिका खेल्ने विश्वास गरिन्छ ।

प्रकृति बोल्दैन तर फूलहरू बोल्छन् । तिनीहरू रङमा बोल्छन्, सुगन्धमा बोल्छन्, मौनतामा बोल्छन् । रातो गुलाबले प्रेमको कथा सुनाउँछ, सेतो कमलले शान्तिको सन्देश दिन्छ । नेपाली चाहे सहरमा बसुन् या गाउँमा, आफ्नो घर–बगैचामा फूल रोप्छन् । शहरबजारमा कौसी र कोठासमेत फूल सजाएर राख्ने चलन बढ्दो छ । यसले घरलाई सुगन्ध बनाउछ ।
मखमली ग्वाटेमाला र पनामाका पहाडी क्षेत्रमा उत्पत्ति भएको र २० औं शताब्दीको मध्यतिर मात्रै हामीकहाँ आइपुगेको पाइन्छ । सन् १९५०–१९६० को दशकदेखि मखमली फूल तिहार पर्वमा भाइटीकाको दिन लगाइने मालामा प्रयोग गर्न थालिएको थियो । ब्रिटिसकालको व्यापारिक र बोटानिकल सम्बन्धमार्फत यो दक्षिण एसियामा आएको थियो । त्यसपछि बोटानिकल गार्डेन र निजी बगैंचामा यसको खेती हुँदै सर्दैसर्दै गयो ।
