नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीले फागुनको पहिलो हप्तामा आगामी निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्वाचनको तयारी तीव्र रूपमा अघि बढिरहेको बताउनुभयो ।
महासचिव पोखरेलका अनुसार निर्वाचन आयोगको ढिलो कार्यतालिका र सीमित प्रचार समयका कारण हाल पार्टीले आन्तरिक भेटघाट, संगठन सुदृढीकरण र उम्मेदवार छनोटमा ध्यान केन्द्रित गरेको छ । उम्मेदवारी दर्तापछि मात्र औपचारिक प्रचार कार्यतालिका प्राप्त हुने भएकाले घोषणापत्र सार्वजनिक गरेपछि उम्मेदवारहरू जनताबीच पुग्ने उहाँको भनाइ छ । एमालेले समानुपातिक र प्रत्यक्ष दुवै तर्फ उम्मेदवार छनोट संस्थागत र व्यवस्थित ढंगले गरेको दाबी पनि उहाँले गर्नुभयो ।
यो निर्वाचनलाई मुलुकको भावी दिशा तय गर्ने जनमत संग्रहका रूपमा व्याख्या गर्दै महासचिव पोखरेलले नीतिगत बहस, सामाजिक एकता, पारिवारिक मूल्य संरक्षण र विकास आयोजना एमालेका प्रमुख चुनावी मुद्दा हुने स्पष्ट पार्नुभयो । उहाँले व्यक्तिवादी सोच र सामाजिक सञ्जालमा आधारित पपुलिजम लोकतन्त्रका लागि चुनौतीपूर्ण भएको उल्लेख गर्दै चुनावलाई व्यक्ति होइन, एजेण्डा र कार्यक्रमको बहसमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार सम्मेलनमा पोखरेलले झापा–५ र दाङ क्षेत्रमा एमालेको आधार मजबुत हुँदै गएको दाबी गर्नुभयो । झापा–५ का मतदाता सचेत रहेको र पपुलिजमको प्रभावमा नपर्ने पार्टीको निष्कर्ष रहेको उहाँले बताउनुभयो । दाङमा अघिल्ला निर्वाचनमा न्यून मतान्तरले हार व्यहोरे पनि यसपटक जनताले निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
दाङको फोरलेन सडक निर्माणबारे उल्लेख गर्दै महासचिव पोखरेलले भारतीय एक्जिम बैंकको ऋणमा जटिलता आएपछि नेपाल सरकारकै स्रोत प्रयोग गरी परियोजना अघि बढाइएको जानकारी दिनुभयो । हाल कामले गति लिएको र स्थानीयवासी आशावादी बनेको उहाँको भनाइ छ ।
आगामी निर्वाचनमा एमाले पहिलो स्थानमा आउने दाबी गर्दै पोखरेलले पार्टीको लोकप्रिय मत ३० देखि ३४ प्रतिशतसम्म पुग्ने अनुमान प्रस्तुत गर्नुभयो । मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेससँग रहने र रास्वपाको प्रभाव जित हासिल गर्ने तहसम्म नपुगेको उहाँको विश्लेषण छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभावबारे बोल्दै महासचिव पोखरेलले शहरी क्षेत्रमा प्रारम्भिक उत्साह कमजोर हुँदै गएको दाबी गर्नुभयो । सहकारी ठगीजस्ता मुद्दा, संगठनात्मक कमजोरी र मतदाताको विकल्प खोज्ने प्रवृत्तिका कारण शहरी मत घट्ने सम्भावना रहेको उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रमा भने रास्वपाको प्रभाव केही बढेको भए पनि संगठन र स्थानीय नेटवर्कको अभावका कारण निर्णायक जित हासिल गर्न कठिन हुने उहाँको भनाइ छ ।
महासचिव पोखरेलले नेपाली काँग्रेसलाई कमजोर ठान्नु भूल हुने उल्लेख गर्दै यसको संगठनात्मक जरा र ‘साइलेन्ट मतदाता’को प्रभाव अझै बलियो रहेको बताउनुभयो । प्रचार कम देखिए पनि मतदाता आधारका कारण काँग्रेस प्रतिस्पर्धामा मजबुत रहने उहाँको निष्कर्ष छ । — न्युज एजेन्सी नेपाल
