काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन सम्पन्न गराई युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई द्रुत विकासतर्फ उन्मुख गराउनु सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ । काठमाडौंमा आज ज्यापु संस्कृति विकास कोषद्वारा आयोजित २२ औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनका लागि पूर्ण तयारीमा रहेको स्पष्ट पारिन ।
कार्कीले जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी तथा गास–बास–कपासको सुनिश्चितता सम्बन्धी मागलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो । आन्दोलनबाट प्राप्त सन्देशले मुलुकले युवाशक्तिको अपेक्षा र आकांक्षा अनुसार अघि बढ्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ थियो ।
प्रधानमन्त्री कार्कीले भन्नुभयो, “भदौ २३ र २४ को जेन–जी आन्दोलनसँगै घटेका घटनाबाट हामीले महत्त्वपूर्ण पाठ सिकेका छौँ । युवाशक्तिले उठाएका मागहरू समाधान गर्न आ–आफ्नो ठाउँबाट सबैले कटिबद्ध हुन आवश्यक छ । सरकार आगामी फागुन २१ गते हुने आम निर्वाचन सफलतापूर्वक सम्पन्न गराई देशलाई स्थायित्व र विकासको मार्गमा लैजान प्रतिबद्ध छ ।”
उनले संस्कृतिको संरक्षण र यसको पर्यटनसँगको समन्वयले देशको पहिचान तथा आर्थिक समृद्धिमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै, उपत्यकास्थित नेवार समुदायलाई योमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा शुभकामना दिइन ।
यसैबीच, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले योमरी पुन्हीलाई संस्कारका रूपमा आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गरिन । २२ औँ राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हीको अवसरमा आयोजित कार्यक्रममा उहाँले ज्यापु दिवसले मेहनत, माटो र पहिचानको प्रतीक बोकेको बताइन ।
उपप्रमुख डंगोलले नयाँ धान घरमा भित्र्याई त्यसैबाट तयार हुने योमरी अर्पण गर्ने परम्परा सांस्कृतिक अस्तित्वको अभिन्न हिस्सा भएको उल्लेख गर्दै भनिन् “यो पर्व मात्र होइन, हाम्रो संस्कार र पहिचान हो । आजको दिनलाई अस्तित्वको रूपमा लिनुपर्छ । मेहनत, परम्परा र कर्तव्यबोधको प्रतीकका रूपमा योमरी पुन्हीले हाम्रो पहिचानलाई अझ प्रस्ट रूपले अभिव्यक्त गर्छ ।” न्युज एजेन्सी नेपालको सहयोगको समासग्री । २२ औं राष्ट्रिय ज्यापु दिवस तथा योमरी पन्ही (तस्बिरहरु) अनुप प्रधान/ न्युज एजेन्सी नेपाल




