काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर आज उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया जारी छ। निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्म देशभरबाट कुल १ हजार २ सय १४ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्।

आयोगका अनुसार सबैभन्दा धेरै उम्मेदवारी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा परेको छ। उक्त क्षेत्रमा हालसम्म १४ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्। प्रमुख राजनीतिक दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारहरूको उपस्थिति पनि उल्लेखनीय देखिएको छ।

प्रत्यक्षतर्फको निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत खटाइसकेको छ भने मनोनयन प्रक्रियालाई सहज र पारदर्शी बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको जनाएको छ।

मनोनयन दर्ताअघि नै आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता लागू गरिसकेको छ। आचारसंहिता लागू भएसँगै दल, उम्मेदवार तथा समर्थकहरूलाई निर्वाचनको मर्यादा र नियमअनुसार गतिविधि गर्न निर्देशन दिइएको छ।

निर्वाचन आयोगका अनुसार यसपटक देशभर १ करोड ८९ लाख ३ हजार ५ सय ६८९ जना मतदाता रहेका छन्। ती मतदाताका लागि १६५ निर्वाचन क्षेत्रमा खोलिएका निर्वाचन अधिकृत कार्यालयहरूमा मनोनयन प्रयोजनका लागि आवश्यक पर्ने मतदाता नामावली पुस्तिका समेत पठाइसकिएको आयोगले जानकारी दिएको छ।

देशभर उम्मेदवारी दर्तासँगै चुनावी माहोल थप तातिँदै गएको छ। उम्मेदवारहरू बाजागाजा, नाराबाजी र समर्थकसहित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराइरहेका छन्। राजनीतिक दलहरूले आ–आफ्ना एजेण्डा सार्वजनिक गर्दै चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्।

आगामी निर्वाचनले देशको राजनीतिक भविष्य तय गर्ने भएकाले जनस्तरमा पनि चासो बढ्दै गएको देखिएको छ। निर्वाचन आयोगले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन सबै पक्षको सहकार्य अपेक्षा गरेको छ।