काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअघि सहज रूपमा बहुमत ल्याउने दाबी गर्दै आएको नेकपा एमाले यसपटकको मतगणनामा भने अपेक्षाकृत कमजोर अवस्थामा देखिएको छ। प्रारम्भिक तथा प्राप्त परिणामहरूले पार्टीका शीर्ष नेताहरू नै पराजय वा पराजयको नजिक पुगेको चित्र देखाएको छ।
झापा–५ मा जारी मतगणनामा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहसँग ठूलो मतान्तरले पछि परेका छन्। प्राप्त परिणामअनुसार बालेन्द्र शाहले ५५ हजार ९३४ मत प्राप्त गरेका छन् भने ओलीले १५ हजार ४०९ मत मात्र पाएका छन्। यस आधारमा ओली ४० हजार ५२५ मतले पछाडि रहेका छन्।
यसैबीच एमालेका अन्य शीर्ष नेताहरूले पनि अपेक्षित परिणाम ल्याउन सकेका छैनन्। उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत, भानुभक्त ढकाल र राजन भट्टराई पराजित भइसकेका छन्। अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पनि प्रतिस्पर्धामा निकै पछि परेका छन् र उनको जितको सम्भावना न्यून देखिएको छ।
त्यसैगरी उपमहासचिवहरू लेखराज भट्ट र रघुवीर महासेठ पनि आफ्नो निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा पछि परेका छन्। एमालेका केही पदाधिकारीहरूलाई पार्टीभित्रैबाट पनि अहंकारी र घमण्डी नेताको आलोचना हुँदै आएको थियो।
हालसम्म प्राप्त परिणामअनुसार एमालेले बाँके–२ बाट मोहम्मद इश्तियाक राई र बझाङबाट ऐनबहादुर महरले मात्र जीत हासिल गरेका छन्। अन्य क्षेत्रमा भने एमाले सीमित अग्रतामा रहेको छ। अहिलेसम्म पार्टीले ९ स्थानमा मात्र अग्रता लिएको छ।
२०७९ को निर्वाचनमा ७८ सिटसहित दोस्रो ठूलो दल बनेको एमालेका लागि यसपटकको परिणाम अप्रत्याशित मानिएको छ। समानुपातिक मतमा पहिलो दल बनेको एमालेका लागि यो परिणामले पार्टीको नेतृत्व, नीति र कार्यक्रमबारे गम्भीर प्रश्न उठाएको विश्लेषण हुन थालेको छ।
निर्वाचनको अन्तिम परिणाम आएपछि समग्र समीक्षा गर्ने तयारी एमालेले गरेको छ। रुपन्देही–२ मा पराजित भएका एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सामाजिक सञ्जालमार्फत पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीमा सुधार आवश्यक रहेको उल्लेख गरेका छन्।
उनले विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्दै जनअपेक्षाअनुसार पार्टीलाई पुनर्गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “विगतमा हाम्रा तर्फबाट भएका गल्ती–कमजोरीहरूको गम्भीर समीक्षा गर्दै जनअपेक्षाअनुसार आफूलाई रूपान्तरण गर्न आवश्यक छ,” उनले भनेका छन्। उनले लोकतन्त्रमा जनमत सर्वोच्च हुने भन्दै मतदाताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्ने पनि बताएका छन्।
