आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मौन अवधि सुरु भएको छ । मतदान हुनुअघि ४८ घण्टादेखि निर्वाचन आयोगले मौन अवधि लागू गरेको हो ।
निर्वाचन व्यवस्थापनको दृष्टिले यो अवधि अत्यन्त संवेदनशील र महत्त्वपूर्ण मानिन्छ । यस अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता तथा अन्य सरोकारवालाले तोकिएको विशेष आचरण पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रचारप्रसार पूर्ण रूपमा निषेध
निर्वाचन आयोगका अनुसार मौन अवधिमा कुनै पनि प्रकारको निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन । राजनीतिक बहस, छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, गोष्ठी वा कार्यशाला आयोजना गर्नसमेत रोक लगाइएको छ ।
सभा, जुलुस र होहल्लामा प्रतिबन्ध
यस अवधिमा बाजागाजा बजाउने, नाचगान गर्ने, सार्वजनिक भोजभतेर आयोजना गर्ने, जुलुस प्रदर्शन गर्ने वा कुनै पनि किसिमको भीडभाड र होहल्ला गर्न नहुने प्रावधान छ । निर्वाचनको वातावरणलाई शान्त र मर्यादित राख्न यस्तो व्यवस्था गरिएको हो ।
सामाजिक सञ्जालमा कडाइ
सामाजिक सञ्जाल, अनलाइन माध्यम, छापा वा अन्य सञ्चार माध्यमबाट कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री प्रकाशन, प्रसारण, पोष्ट वा साझेदारी गर्न नपाइने स्पष्ट गरिएको छ ।
मत माग्न पूर्ण प्रतिबन्ध
मौन अवधिमा कुनै पनि माध्यमबाट मत माग्न पाइँदैन । ध्वनि प्रणाली, छोटो सन्देश सेवा, सामाजिक सञ्जाल वा अन्य कुनै साधन प्रयोग गरेर मत माग्ने कार्य निषेध गरिएको छ ।
मतदान प्रक्रियामा अवरोध गर्न नहुने
मतदान सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान सम्पन्न नभएसम्म मतदाता, मतदान केन्द्र वा निर्वाचनमा खटिएका कर्मचारीलाई अवरोध पुर्याउने कुनै पनि कार्य गर्न नपाइने आयोगले जनाएको छ ।
विज्ञापन तथा प्रचार सामग्री हटाउन निर्देशन
राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित संगठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन र प्रचार सामग्री हटाउनुपर्नेछ । साथै मतदान हुनुभन्दा ४८ घण्टा अघि मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका सबै प्रचार सामग्री हटाउनुपर्ने प्रावधान छ ।
मतदान केन्द्र वरिपरि शान्ति कायम गर्न आग्रह
मतदान केन्द्र रहेको घर, भवन वा स्थानको वरिपरि भय, त्रास सिर्जना गर्ने वा शान्ति भंग गर्ने कुनै पनि गतिविधि गर्न नहुने आयोगले स्पष्ट पारेको छ । निर्वाचनको स्वच्छ, निष्पक्ष र मर्यादित वातावरण कायम राख्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरिएको छ ।
मौन अवधि निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने महत्वपूर्ण चरण भएकाले सबै नागरिकले कानुनी प्रावधानको सम्मान गर्दै शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सहयोग गर्नुपर्ने देखिएको छ ।
