काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई कम्युनिष्ट आन्दोलनको “कुरुप चित्र”को संज्ञा दिनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले सो पार्टीको केन्द्रीय समितिको अत्यधिक आकारले सिंगो कम्युनिष्ट आन्दोलन बद्नाम भएको टिप्पणी गर्नुभयो । उहाँले समाजवादी मोर्चामार्फत सबै कम्युनिष्ट शक्तिलाई एकतावद्ध गरेर अघि बढ्ने सहमतिबाट प्रचण्ड पछि हटेर अलग पार्टी गठन गरेको आरोप पनि लगाउनुभयो ।
महासचिव विप्लवका अनुसार धेरै मानिस जम्मा भएमा मात्रै कम्युनिष्ट पार्टी ठूलो हुन्छ भन्ने सोच राख्नेहरूसँग आफ्नो पार्टीको एकता सम्भव छैन । उहाँले समाजवादी मोर्चामा आफूहरू अन्तिम समयसम्म पनि एकताको पक्षमा उभिएको दाबी गर्दै एकताबाट पछि हट्ने काम प्रचण्ड पक्षबाट भएको बताउनुभयो ।
उहाँले प्रचण्ड नेतृत्वको पार्टीतर्फ संकेत गर्दै हजारौँ केन्द्रीय सदस्य रहेको संरचनाले कम्युनिष्ट आन्दोलनको गरिमा घटाएको जिकिर गर्नुभयो । यस्तो अभ्यासले विचार, सिद्धान्त र इतिहासप्रति इमान्दार हुन नसकेको स्पष्ट देखिने उहाँको भनाइ थियो । महासचिव विप्लवले यसलाई कम्युनिष्ट आन्दोलनको बेइज्जती र बदनाम गर्ने कार्यको रूपमा व्याख्या गर्नुभयो ।
यसैबीच, महासचिव विप्लवले आगामी निर्वाचनको प्रचार अभियानका क्रममा आफू देशव्यापी दौडाहामा निस्कने जानकारी पनि दिनुभयो ।
