नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा आयोजित पूर्वी रुकुमका नेता–कार्यकर्ता, जनसमुदाय, समर्थक तथा विभिन्न पेसा–व्यवसायमा संलग्न पार्टी सदस्यहरूसँगको विशेष भेलामा पूर्वी रुकुमलाई केन्द्रमा राखेर आफ्नो राजनीतिक दृष्टिकोण सार्वजनिक गर्नुभएको छ ।
भेलालाई सम्बोधन गर्दै प्रचण्डले पूर्वी रुकुमलाई जनयुद्धको केन्द्रीय आधार इलाका, संघीय लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक घोषणास्थल तथा क्रान्तिकारी विचारधाराको महत्वपूर्ण केन्द्रका रूपमा स्मरण गर्नुभयो । उहाँले यही भूमिबाट समुदायमा आधारित समाजवादको नमूना मोडेल स्थापना गरी देशभर विकासको उदाहरण प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार यो पहल केवल चुनावी प्रक्रियासँग सीमित नभई पूर्वी रुकुमको विकास, पहिचान र सम्मानको नयाँ यात्राको सुरुआत हो ।
प्रचण्डले चुनबाङ र लाबाङ बैठकलाई नेपालको राजनीतिक परिवर्तनका निर्णायक मोडका रूपमा उल्लेख गर्दै ती बैठकहरूले समावेशी लोकतन्त्र र उत्पीडित समुदायका अधिकार सुनिश्चित गर्ने आधार तयार पारेको बताउनुभयो । विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित भई तीन पटक प्रधानमन्त्री भइसकेका उहाँले वर्तमान राष्ट्रिय राजनीति, पार्टीको आवश्यकता र पूर्वी रुकुमका जनताको भावना आत्मसात गर्दै यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।
उहाँले जनयुद्धका शहीद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्गहरूको सम्मान र न्यायलाई प्राथमिकतामा राख्दै शहीद परिवारका सदस्यलाई रोजगारी, आर्थिक सहयोग, शहीद पार्क तथा स्मारक निर्माणजस्ता कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पूर्वी रुकुमलाई समुदायमा आधारित समाजवादको नमूना जिल्ला बनाउने लक्ष्यसहित प्रचण्डले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र पर्यटनसम्बन्धी बहुआयामिक विकास योजनाहरू प्रस्तुत गर्नुभयो । चुनमाङ–रुकुमकोट सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने, मध्यपहाडी लोकमार्ग स्तरोन्नति गर्ने, सबै वडामा वर्षभर यातायात सुविधा पुर्याउने, प्रविधियुक्त विद्यालय तथा २४ घण्टा चिकित्सकसहितको आधुनिक जिल्ला अस्पताल विकास गर्ने योजना उहाँले अघि सार्नुभयो ।
त्यसैगरी फलामखानी तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना, खाम मगर सभ्यताको आधारमा पहिचानसहितको अधिकार सुनिश्चित गर्ने, जनयुद्धका ऐतिहासिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तथा अर्गानिक जिल्लाको अवधारणालाई व्यवहारमा उतार्ने योजनासमेत उहाँले प्रस्तुत गर्नुभयो ।
भ्रष्टाचारविरुद्धको अभियान, सामाजिक न्याय र आर्थिक समृद्धिका अधुरा योजनाहरू पूरा गर्न पूर्वी रुकुमबाट नयाँ राजनीतिक आधार तयार पार्ने प्रचण्डको भनाइ छ । उहाँले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भएमा नेपाली कम्युनिस्ट पार्टी प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा बलियो जनसमर्थनसहित देशकै प्रमुख शक्ति बन्ने दाबी गर्नुभयो ।
भेलाको अन्त्यमा प्रचण्डले काठमाडौंमा बसोबास गर्ने पूर्वी रुकुमका नागरिक तथा पार्टी सदस्यहरूलाई संगठित रूपमा निर्वाचन अभियानमा सक्रिय हुन अपिल गर्दै निर्वाचनपछि पनि जिल्लाका पालिका र वडामा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
