काठमाडौं । नेपाली काँग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कालाई विधान विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
बुधबार सानेपास्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले अनधिकृत रूपमा प्रेस विज्ञप्ति जारी गरेको भन्दै खड्कासँग ७ दिनभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको हो । समितिका संयोजक तारामान गुरुङका अनुसार यसअघि सचेत गराउँदा गराउँदै पुनः नक्कली लेटरप्याड प्रयोग गरी विज्ञप्ति जारी गरेपछि उक्त निर्णय लिइएको हो ।
समितिले प्रतिनिधिसभा निर्वाचन २०८२ का सन्दर्भमा पार्टी अनुशासन उल्लंघनसम्बन्धी उजुरी दिने समयसीमा पनि एक महिना थप गर्दै वैशाख मसान्तसम्म पुर्याएको जनाएको छ ।
