पुरातत्व विभागले पुरातात्विक महत्वका अवशेषहरूको संरक्षणमा विशेष ध्यान दिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत विभागले विकास निर्माणका क्रममा ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तु वा संरचना भेटिए तत्काल विभागलाई जानकारी गराउन अपिल गरेको हो।
विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले काठमाडौं उपत्यकासहित हिमाली र तराई क्षेत्रका विभिन्न स्थानहरू पुरातात्विक दृष्टिले अत्यन्त महत्वपूर्ण रहेकाले यस्ता स्थानमा कुनै अवशेष भेटिएमा त्यसलाई नष्ट नगरी संरक्षणका लागि पहल गर्नुपर्ने बताउनुभयो। उहाँले विकासका नाममा पुरातात्विक संरचना जोगाउन नसकिए मानव सभ्यताको पहिचान नै संकटमा पर्न सक्ने चेतावनी दिनुभयो।
महानिर्देशक प्रधानाङ्गका अनुसार विकास निर्माण अघि सम्बन्धित स्थानमा पुरातात्विक महत्वका वस्तु छन् वा छैनन् भन्ने यकिन गरेर मात्र काम अगाडि बढाइनु आवश्यक छ। “कतिपय अवस्थामा केही अवशेष भेटिए पनि विभागलाई जानकारी नदिई छोप्ने वा हटाउने प्रवृत्ति देखिन्छ,” उहाँले भन्नुभयो, “तर यस्ता भग्नावशेष सय–दुई सय वर्षका लागि मात्र होइन, हजारौँ वर्षसम्म मानव सभ्यताको प्रमाणका रूपमा रहन्छन्। मानव सभ्यता विभिन्न कारणले बीचमा अवरुद्ध हुन सक्छ, तर अवशेष सुरक्षित रहे ती इतिहासको निरन्तरता प्रमाणित गर्ने आधार बन्छन्।”
उहाँले लुम्बिनी र कपिलवस्तुको उदाहरण दिँदै ऐतिहासिक संरचनाले विगतको सभ्यता पुष्टि गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। प्राकृतिक विपद् वा अन्य कारणले सभ्यता हराए पनि भग्नावशेषले इतिहास जोगाइराख्ने उहाँको भनाइ थियो। त्यसैले कुनै पनि क्षेत्रमा पुरातात्विक महत्वका वस्तु भेटिएमा विभागलाई जानकारी गराई संरक्षण सुनिश्चित गर्दै मात्र थप विकास कार्य अघि बढाउन उहाँले आग्रह गर्नुभयो।
विभागले कपिलवस्तुको तिलौराकोटलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक प्रमाण संकलनको काम जारी रहेको पनि जानकारी दिएको छ। तिलौराकोटको ऐतिहासिक महत्वलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन अध्ययन, अनुसन्धान र अभिलेखीकरणको कार्य तीव्र पारिएको विभागले जनाएको छ
