काठमाडौँ, आसन्न महाधिबेशन अघि बसेको नेकपा (एमाले) को सचिवालय बैठकले पार्टीको विधान महाधिवेशनले पारित गरेको संरचना तथा प्रक्रियालाई नै सर्वोच्च मानेर त्यहीअनुसार नेतृत्व चयन गर्ने निर्णय गरेको छ।
उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार अब एमालेको सचिवालय विधानले तोकेको स्वरूपमै रहनेछ। जस अनुसार पार्टीमा १५ सदस्यीय केन्द्रीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिनेछ।
महाधिवेशन तयारीअन्तर्गत हालका सबै पदाधिकारीहरू मिलाएर अध्यक्ष मण्डल गठन गरिएको छ। साथै प्रस्ताव लेखन तथा माइन्युट तयार गर्ने समितिको जिम्मेवारी उपमहासचिव प्रदीप ज्ञवाली र उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई दिइएको बैठकले निर्णय गरेको छ।
बैठकपछि जानकारी दिँदै उपमहासचिव ज्ञवालीले १०८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय पनि गरिएको बताए। यसबाहेक, मंसिर २४ गते जेन–जी आन्दोलनका प्रतिनिधिसँग गरिएको भनिएको सम्झौताप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको पनि उनले बताए। सरकारले आफ्नो निर्धारित अधिकारक्षेत्रभन्दा बाहिर गएर संविधान संशोधनसम्बन्धी सम्झौता गरेको आरोप एमालेले लगाएको छ।
महाधिवेशनको उद्घाटन कार्यक्रम शनिबार भक्तपुरको सल्लाघारीमा मध्यान्ह १२:३० बजे सुरु छ ।
