पाकिस्तान । पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु भएको र करिब दुई दर्जन घाइते भएको आन्दोलनसँग आबद्ध पक्षले दाबी गरेको छ। घटनाबारे पाकिस्तानी अधिकारीहरूले भने समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का कोर सदस्य इम्तियाज असलमले सार्वजनिक गरेको भिडियो सन्देशमा प्रदर्शनकारीहरूको काफिला चिनार चोक हुँदै मकबूल भट शहीद चोकतर्फ अघि बढिरहेका बेला सुरक्षा बलले गोली चलाएको आरोप लगाउनुभएको छ।

उहाँका अनुसार मृतकमध्ये आन्दोलनका संस्थापक उमर नाजिर कस्मिरीका कान्छा भाइ उस्मान नाजिर पनि रहेका छन्। साथै खैगला, कोटली, तत्तापानी, बञ्जा–बासपुर, छोटा गाला, हवेली तथा दुई जना बलुच समुदायका सहभागीको पनि मृत्यु भएको उहाँले दाबी गर्नुभएको छ।

असलमले करिब दुई दर्जन प्रदर्शनकारी घाइते भएको बताउँदै विदेशमा रहेका कश्मीरी समुदायलाई घटनाबारे अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउन आग्रह गर्नुभएको छ। उहाँले पाकिस्तानी दूतावास, संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय मानवअधिकार निकायसमक्ष विरोध जनाउन र आन्दोलनप्रति ऐक्यबद्धता देखाउन अपिल गर्नुभएको छ।

उहाँले मिरपुर र मुजफ्फराबाद क्षेत्रमा इन्टरनेट तथा मोबाइल सेवा बन्द गरिएको दाबी गर्दै सञ्चार अवरुद्ध भएकाले आन्दोलनकारीहरू पैदल यात्रा गर्दै तीनदेखि चार दिनभित्र मुजफ्फराबाद पुग्ने तयारीमा रहेको बताउनुभएको छ। आन्दोलनकारीहरूले पहिलो रात मकबूल भट शहीद चोकमै बिताउने योजना रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ।

घटनाका अर्का एक प्रत्यक्षदर्शीले प्रदर्शनकारीहरू सेतो झण्डा बोकेर शान्तिपूर्ण रूपमा रावलकोटको चाँदनी चोक पुगेका बेला उनीहरूमाथि बल प्रयोग गरिएको आरोप लगाउनुभएको छ। उहाँले आन्दोलन पाकिस्तान वा पाकिस्तानी सेनाविरुद्ध नभई आफ्ना अधिकारका लागि भएको दाबी गर्दै सुरक्षा बललाई संयमता अपनाउन आग्रह गर्नुभएको छ।

ती प्रत्यक्षदर्शीले पनि क्षेत्रमा पूर्ण सञ्चार अवरोध गरिएको दाबी गर्दै विदेशमा रहेका कश्मीरी समुदायलाई आन्दोलनको आवाज अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन अनुरोध गर्नुभएको छ।

यद्यपि, गोली प्रहार, १४ जनाको मृत्यु, घाइतेको संख्या तथा अन्य विवरण आन्दोलनसँग सम्बद्ध पक्ष र प्रत्यक्षदर्शीहरूको दाबीमा आधारित छन्। पाकिस्तानी अधिकारीहरूले भने घटनाबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।