रामहरि पाण्डे । अक्ल्यान्ड, न्युजिल्यान्ड : न्युजिल्यान्ड सरकारले आगामी ७ नोभेम्बरमा आमनिर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै आफ्नो तयारी तीव्र बनाउँदै लगेको छ । तर, यहाँ बसोबास गर्ने नेपाली मात्र नभएर स्थानीय तथा अन्य मुलुकका आप्रवासीहरू न्युजिल्यान्डको भन्दा पनि नेपालमा हुन लागेको निर्वाचनलाई चासो र उत्साहका साथ हेरिरहेका छन् । उनीहरू यहाँ रहेका नेपालीहरूसँग नेपालमा विकसित राजनीतिक घटनाक्रम, निर्वाचन, निर्वाचनमा उठेका उम्मेदवार र सम्भावित परिणामबारे उत्सुकताका साथ जिज्ञासा राख्छन् ।  

गत भदौमा नेपालमा भएको ‘जेन–जी आन्दोलन’, आन्दोलनका क्रममा युवाहरूको ज्यान गएको घटना तथा त्यसपछि सरकारी र गैरसरकारी भौतिक संरचनामा भएका क्षतिका बारेमा न्युजिल्यान्डका सञ्चारमाध्यममा उल्लेख्य स्थान पाएको थियो । त्यही समाचारको प्रभावले यहाँका स्थानीय बासिन्दाहरूले नेपालप्रति चासो बढाएका हुन् । त्यसैले स्थानीय तथा आप्रवासीहरू नेपालीसँग भेट हुँदा सबैभन्दा पहिले नेपालमा रहेको तिम्रो परिवारलाई कस्तो छ ? नयाँ निर्वाचन हुँदै छ, त्यसको तयारी अनि  कस्ता उम्मेदवार उठेका छन्, तिमीले तिनीहरूलाई चिन्छौ ?’ जस्ता प्रश्न गर्छन् र यतिबेला यी प्रश्नहरू सामान्य बन्न थालेका छन् ।

करिब ६ वर्षभन्दा बढी समय नेपालमा यूएनडीपीमा काम गरेर तीन वर्षअघि स्वदेश फर्किएकी अक्ल्यान्ड निवासी रोजी हिटन नेपाललाई नजिकबाट नियाल्नेमध्ये एक पर्छिन् । ‘म नेपालीसँग अत्यन्तै नजिक छु, त्यसैले त्यहाँको हरेक घटनाक्रमसँग जानकार छु,’ उनले भनिन्, ‘अब हुन लागेको निर्वाचनको परिणामबारे म निकै उत्साहित छु ।’ उनी थप्छिन्, ‘अहिले परिवर्तन र विकासका कुरामा मानिसहरू बढी सचेत भएको देखिन्छ, त्यसैले अब नेपालको विकास र प्रगतिले गति लिन्छ भन्ने लाग्छ ।’ 

रोजी, मात्र होइन, भारतीयमूलका न्युजिल्यान्ड निवासी रामकुमार सुबरमन्युले पनि नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छन् । ‘नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निर्वाचनमा किन नउठेको भन्ने जिज्ञासा राख्दै थपे, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वमेयर बालेन्द्र शाहबीच झापामा हुन लागेको चुनावी प्रतिस्पर्धाले निकै चर्चा पाएको देख्छु ।’ भारतीय सञ्चारमाध्यमले पनि नेपालको चुनावलाई निकै महŒव दिएकाले आपूm नेपालको विकसित घटनाक्रमबारे बढी जानकार र उत्सुक रहेको बताए । ‘अबको नेतृत्व नयाँ अनुहारले गर्ने सम्भावना बढेको देखिन्छ’ उनले थपे ।

न्युजिल्यान्डका नेपाली समुदायभित्र पनि निर्वाचनको चर्चा अत्यधिक हुने गरेको, नेपाली समुदायहरूको सामाजिक संस्था हाम्रो एकताको अध्यक्ष सौरभ बस्नेत बताउँछन् । कामको सिलसिलामा होस् वा साथीभाइसँगको भेटमा, कुराको विषय नै नेपालको चुनाव र राजनीतिक भविष्यतर्फ हुने गरेको छ । ‘त्यसैले यहाँ रहेका नेपाली संघसंस्था र समुदायसँग आबद्ध गैरनेपाली पनि नेपालको निर्वाचन, समग्र राजनीतिक र सामाजिक अवस्थाबारे जानकार छन् ।’ उनले थपे, ‘यहाँ नेपालीलाई हेर्ने नजर नै फरक खाल्को छ, त्यसैले नेपालबारे धेरै मानिस जान्न उत्सुक हुन्छन् ।’ 

न्युजिल्यान्ड–नेपाल सोसाइटीका अध्यक्ष रोसन खड्का यतिबेला नेपालबारे हुने अधिकांश कुराकानी निर्वाचन र आफ्नो जिल्लामा उठेका उम्मेदवारमै केन्द्रित हुने बताउँछन् । ‘हामी निर्वाचनलाई लिएर निकै उत्साहित छौं,’ उनले भने, ‘तर परिणामले फेरि पुरानै ढाँचाको सत्ता चलखेलमै निर्वाचित प्रतिनिधिहरू केन्द्रित हुने हो कि भन्ने शंका देखाउँछ ।’ 

आगामी निर्वाचनले देशलाई विकास र प्रगतितर्फ लैजाओस् भन्ने अपेक्षा राखे पनि नयाँ र विश्वास गरिएका पात्रहरू फरक–फरक दलबाट चुनावी मैदानमा उत्रिँदा ‘जेन–जी आन्दोलन’ र त्यसका नाराले सार्थकता नपाउने हो कि भन्ने चिन्ता अध्यक्ष खड्काको थियो । ‘परिवर्तनका सबै शक्तिहरू एक ठाउँमा आउन सकेनन्, यसले केही निराशा छाएको छ,’ उनले भने, ‘तर संसदमा नयाँ अनुहारहरू देख्न पाइने र त्यसमा पनि ५० वर्षमुनिका सांसदको संख्या बढी हुन सक्ने विश्वास छ ।’ विदेशमा रहेर आफ्नो मत जाहेर गर्न पाइन्छ की भन्ने आशा निरासामा परिणत भए पनि आगामी निर्वाचनमा त्यो सम्भव हुने विश्वास आफूहरूमा रहेको खड्काको भनाइ थियो । 

न्युजिल्यान्डको टौरंगा निवासी नेपाली समाजका सामाजिक अभियन्ता आत्मराम खनाल  विदेश बसेर नेपालप्रति चासो देखाउँदा केही परिवर्तन नआउने थाहा हुँदाहुँदै पनि प्रवासी नेपालीहरू नेपालकै विषयमा बढी ध्यान दिइरहेको बताए । ‘हामी मात्र होइन, यहाँका स्थानीय मानिस पनि नेपालको निर्वाचनप्रति चासो राख्छन्, नेपालमा हुने विभिन्न घटनाक्रमका बारेमा चासो राख्छन्’ उनले भने, ‘हाम्रो र यहाँका मानिसको चासोले मात्रै परिवर्तन नआउला, तर मनले चुप बस्न दिँदैन ।’ 

यसपटकको निर्वाचनमा नयाँ र पुराना दलबाट युवा उम्मेदवार बढी उठेकाले आशा गर्ने स्थान प्रसस्तै रहेको भन्दै खनालले थपे, ‘तर, नयाँ भनिएका दलका केही उम्मेदवारहरू पनि विवादमा जोडिएकाले पुरानै दल र नेताहरू फर्किने सम्भावनालाई नकार्न भने सकिँदैन ।’ देशको हितमा काम गर्ने नयाँ मानिस राजनीतिमा आउनुपर्छ भन्ने चाहनामा प्रवासी नेपालीहरूको साझा मत भएको उनको भनाइ थियो । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्यान्डका अध्यक्ष अच्युत अर्यालले आगामी निर्वाचन र त्यसबाट चुनिने प्रतिनिधिको हातमा देशको भविष्य रहेको बताए । अहिलेको निर्वाचनलाई विशेष चासोका साथ हेरिरहेको जानकारी गराउँदै भने, ‘देशले अब पुरानो होइन, नयाँ नेतृत्व खोजिरहेको छ, युवाको सहभागिता बढ्नु र पुराना दलहरूले पनि युवालाई प्राथमिकता दिनुले त्यही संकेत गर्छ ।’ 

क्यान्टबरी नेपाली समाजका पूर्वअध्यक्ष दीपक पाण्डे नेपालको निर्वाचनले नेपालमा भन्दा विदेशमा बस्ने नेपालीहरूलाई अझ बढी छोएको अनुभूति हुने बताउँछन् । ‘साथीसँग भेट हुँदा हरेक पल नेपालकै निर्वाचन र नेताहरूको चर्चा हुन्छ,’ उनले भने, ‘न्युजिल्यान्डको दक्षिण आइल्याण्डमा बस्ने नेपालीहरूले निर्वाचनलाई देशको भविष्यसँग जोडेर हेर्ने र आफ्ना जिल्लाका उम्मेदवारबारे सक्रिय रूपमा छलफल गर्ने गरेका छन् । नर्थ आइल्यान्डमै बस्ने केही नेपालीले त चुनावप्रतिको यो चासो व्यवहारमै पनि उतार्न खोजेको देखिन्छ । क्यान्टबरीस्थित एक गाइ फार्ममा काम गर्दै आएका सिन्धुपाल्चोक मेलाम्चीका सुमन श्रेष्ठ निर्वाचनकै लागि नेपाल जाने तयारीमा रहेको बताए । ‘अहिले कामको चाप कम छ र साहुले पनि विदा दिएकाले नेपाल जान लागेको हुँ,’ उनले भने, ‘परिवारसँग पनि भेट हुने निर्वाचनमा मत पनि खसाल्न पाइने भएकाले नेपाल जान लागेको हुँ ।’ निर्वाचन हुनुभन्दा एक हप्ता अघि नेपाल पुग्ने उनको योजना छ ।

मतदान गर्न नपाए पनि प्रवासी नेपालीहरू नेपालमा परिवर्तन अनिवार्य भएको महसुस गरिरहेका छन् । सेन्ट्रल हक्स बेमा बस्दै आएकी नवलपरासीकी हिमा पाठक भन्छिन्, ‘परिवर्तन तुरुन्तै हुन्छ कि हुँदैन भन्ने निश्चित नभए पनि नयाँ नेतृत्व, युवाको सहभागिता र देश विकासप्रति स्पष्ट दृष्टिकोण बोकेका प्रतिनिधि आए भविष्यमा आफूहरू पनि नेपाल फर्कन सकिने वातावरण बन्छ कि भन्ने आशा छ ।’  अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकबाट