नेकपा एमालेले विवादास्पद व्यक्तित्व मानिएका पुष्पराज श्रेष्ठलाई कमाण्डर बनाउँदै ‘नेशनल युथ भोलिन्टियर फोर्स’ गठन गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले बबरमहलमा आयोजित कार्यक्रममा श्रेष्ठलाई झण्डा हस्तान्तरण गर्दै फोर्सको औपचारिक घोषणा गरेका हुन्। पार्टीले फोर्सको उद्देश्य ‘जनताको सुरक्षा, शान्ति–सुव्यवस्था र जनसहयोग’ अध्यक्ष ओलीले दावी गरेका छन्।

तर, फोर्स गठनका प्रारम्भिक चरणमा नै आर्थिक संकलनका उर्दी जारी भएपछि एमालेभित्र र पार्टी निकट व्यवसायीमाझ असन्तोष बढेको छ। स्रोतहरूका अनुसार प्रदेश सांसद तथा मन्त्रीहरूसँग क्रमशः एक महिनादेखि डेढ महिनासम्मको तलब बराबर रकम मागिएको समाचार सार्वजनीक भएका छन्।। त्यस्तै, पार्टी निकट व्यवसायीहरूसँग ४ लाख ५० हजारसम्म सहयोग मागिएको एमाले निकट व्यावसायीहरुको भनाई छ।

उता पार्टीका केही नेताहरूले संस्थागत निर्णयबिना रकम उठाइएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूका अनुसार ‘ओली निवास र सुरक्षामा खर्च’ लगायत शीर्षक राखेर आर्थिक सहयोग मागिएको छ, जसले नेताहरूलाई ‘बोल्न नसक्ने र नबुझाउन नसक्ने’ दोधारमा पारेको छ।

यसबीच, पार्टीका शीर्ष पदाधिकारीहरूले फोर्स गठनप्रति नै गम्भीर आपत्ति जनाएका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलदेखि उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरूले लोकतान्त्रिक प्रणालीमा समानान्तर सुरक्षा संरचना बनाउने प्रयास अनुचित भएको तर्क गरेका छन्। उनीहरूले, राजनीतिक प्रयोजनका लागि बनाउनु उचित नहुने भन्दै असहमति जनाएका हुन्। यद्यपि नेताहरूको असहमति र आलोचनाका बीच पनि अध्यक्ष ओली फोर्स गठनमा अडिग देखिए र बनाए । कार्यदलका सदस्यका अनुसार फोर्सलाई विस्तार गरी एक लाख सदस्यसमेत बनाउने योजना रहेको छ, जसका दस्ताहरू काठमाडौंसहित देशभरका टोल–टोलसम्म गठन गरिने जनाएका छन्।