अष्ट्रेलियाको न्यु साउथ वेल्स संसदले नेपाली समुदायको योगदानको कदर गर्दै औपचारिक रूपमा सम्मान गरेको छ। न्यु साउथ वेल्स संसदले गैरआवसीय नेपाली संघ अष्ट्रेलिया लाई ‘कम्युनिटी रिकग्निसन स्टेटमेन्ट’ प्रदान गर्दै संस्थाले समुदायस्तरमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गरेको हो।

२२ अक्टोबर २०२५ मा संसदमा सम्बोधन गर्दै सांसद मार्क कुरेले एनआरएनए अष्ट्रेलियाले सामाजिक एकता, सांस्कृतिक प्रवर्द्धन र आपसी सहकार्यमा खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो। उहाँले संस्थाका निवर्तमान अध्यक्ष अनिल पोखरेलप्रति विशेष धन्यवाद व्यक्त गर्दै उहाँको नेतृत्वमा समुदायले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो।

उक्त अवसरमा सांसद कउरेले नवनियुक्त अध्यक्ष सन्तोस कुँवरलाई स्वागत गर्दै आगामी दिनमा अझ सशक्त सहकार्यको अपेक्षा व्यक्त गर्नुभएको थियो। उहाँले संसद र नेपाली समुदायबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो।

एनआरएनए अष्ट्रेलियाले वर्षौंदेखि नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आएको छ। प्राकृतिक विपत्ति, सामाजिक सहयोग तथा आपतकालीन अवस्थाहरूमा समेत संस्थाले अग्रसरता देखाएको उल्लेख गरिएको छ।