काठमाडौं। न्युजिल्यान्ड पठाइदिने भन्दै नेपाली युवायुवतीबाट लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्य, गोपालगञ्जका ४२ वर्षीय सञ्जय कुमार रहेका छन्। उनलाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका–१६ क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार सञ्जयले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने प्रलोभन देखाउँदै एक नेपाली पीडितबाट ९ लाख ८० हजार रुपैयाँ लिएका थिए। रकम लिएपछि उनले लामो समयसम्म विभिन्न बहाना बनाएर झुक्याउँदै आएका थिए भने न त न्युजिल्यान्ड पठाउने प्रक्रिया अघि बढाए, न त रकम फिर्ता गरेपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।
उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनले आकर्षक रोजगारी र सहज भिसाको आश्वासन दिँदै रकम असुल्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सञ्जयलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ। विभागले उनीमाथि वैदेशिक रोजगार ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाउने जनाएको छ।
