वेलिङ्टन। न्युजिल्यान्डको अध्यागमन विभागले भिसा प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यले सञ्चालन गरिरहेको ३३६ मिलियन न्युजिल्यान्ड डलर लागतको महत्वाकांक्षी परियोजनाले पहिलो चरणको लक्ष्य समयमै पूरा गर्न नसक्ने भएको छ ।

सात वर्षे परियोजनाअन्तर्गत विद्यार्थी, अस्थायी भिसावाहकका परिवार तथा समूह पर्यटक भिसासहित ३१ प्रकारका भिसा नयाँ डिजिटल प्रणालीमा स्थानान्तरण गर्ने योजना थियो। तर समूह पर्यटक भिसा प्रणाली निर्धारित समयभित्र सञ्चालनमा आउन नसकेपछि परियोजना ढिलाइ भएको हो। न्युजिल्यान्डमा हरेक वर्ष करिब ६० हजार समूह पर्यटक भिसाका आवेदन पर्ने गर्छन्।

परियोजनाको प्रगतिबारे अध्यागमन तथा अर्थमन्त्रीलाई नियमित रूपमा जानकारी गराइँदै आएको छ भने सार्वजनिक सेवा आयोगले पनि परियोजनाको प्रगति र मन्त्रीहरूलाई दिइएको जानकारीको विश्वसनीयताबारे स्वतन्त्र समीक्षा सुरु गरेको छ।

अध्यागमन विभागले पहिलो चरणबाट प्राप्त अनुभवका आधारमा आगामी चरणहरू अझ प्रभावकारी रूपमा कार्यान्वयन गरिने जनाएको छ। परियोजनाको दोस्रो चरण सन् २०२८ सम्म सञ्चालन हुनेछ, जसअन्तर्गत १०० भन्दा बढी प्रकारका भिसा सेवा एउटै आधुनिक डिजिटल प्रणालीमार्फत उपलब्ध गराउने लक्ष्य राखिएको छ।