अकल्याण्ड । न्युजिल्याण्डमा अब नागरिकता लिन चाहने आप्रवासीहरूले अनिवार्य रूपमा बहुविकल्पीय परीक्षा पास गर्नुपर्ने भएको छ । सरकारले आउँदो सन् २०२७ को अन्त्यतिर लागु हुने गरी नयाँ नागरिकता परीक्षा सुरु गर्ने तयारी गरेको हो ।

नयाँ व्यवस्थाअनुसार नागरिकता आवेदन दिने व्यक्तिहरूले प्रत्यक्ष उपस्थित भएर परीक्षा दिनुपर्नेछ । परीक्षामा न्युजिल्याण्डको कानुन, लोकतान्त्रिक प्रणाली, मानव अधिकार, मतदान अधिकार, सरकारको संरचना तथा नागरिकको अधिकार र जिम्मेवारीसम्बन्धी प्रश्न सोधिनेछन् । परीक्षा उत्तीर्ण गर्न कम्तीमा ७५ प्रतिशत सही उत्तर दिनुपर्ने बताइएको छ ।

हाल नागरिकता आवेदन दिने व्यक्तिहरूले यी विषय बुझेको स्वघोषणा गर्ने व्यवस्था मात्र रहेको छ । यसबाहेक बसोबास अवधि, असल आचरण र अंग्रेजी भाषासम्बन्धी मापदण्ड पूरा गर्नुपर्ने नियम भने यथावत रहनेछ ।

आन्तरिक मामिला मन्त्री ब्रुक भान भेल्डेनले नयाँ व्यवस्थाले न्युजिल्याण्ड नागरिकताको महत्व अझ मजबुत बनाउने बताएकी छन् । उनका अनुसार नागरिकता लिन चाहने व्यक्तिहरूले अभिव्यक्ति स्वतन्त्रता, कानुनको शासन र समान अधिकारजस्ता न्युजिल्याण्डका आधारभूत मूल्यबारे जानकारी राख्न आवश्यक छ ।

परीक्षामा मानव अधिकार, गम्भीर आपराधिक कसुर, लोकतान्त्रिक सिद्धान्त तथा न्युजिल्याण्ड आवतजावतसम्बन्धी विषयहरू पनि समावेश गरिने जनाइएको छ । सरकारले परीक्षा तयारीका लागि अध्ययन सामग्री र मार्गदर्शन समेत उपलब्ध गराउने बताएको छ ।

यसैबीच, एक्ट पार्टीका नेता डेभिड सीमोरले यस निर्णयलाई आफ्नो पार्टीको नीतिगत सफलताको रूपमा व्याख्या गरेका छन् । उनले सन् २०१६ देखि नै नयाँ आप्रवासीहरूले न्युजिल्याण्डका समान अधिकार र कानुनी मूल्यबारे बुझ्नुपर्ने धारणा राख्दै आएको बताएका छन् ।

न्युजिल्याण्ड फर्स्टका नेता विन्स्टन पिटर्सले पनि यसअघि “किवी मूल्य” प्रतिको सम्मान आवश्यक रहेको बताएका थिए । उनका अनुसार देशको झण्डा, मूल्य र समाजप्रति सम्मान गर्ने संस्कृतिलाई बलियो बनाउन आवश्यक छ ।